चुम्लुङले ३१औं स्थापना दिवस मनायो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुम्लुङले ३१औं स्थापना दिवस मनायो


आन्छुमे नसान,
दमक/ किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको आयोजनामा बिर्तामोड स्थित आफ्नै भवनमा मंगलबार किरात याक्थुङ चुम्लुङको ३१ औं स्थापना दिवस बिविध कार्यक्रम गरी मनाएको छ ।

प्रमुख आतिथि माननीय पुर्ब सांसद तथा इतिहासबिद शेर बहादुर इङनामले दीप जलन तथा च्याब्रुङ बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा दुई छात्र र दुई छात्रा गरी चार जनालाई छात्रबृति प्रमुख अतिथिको हस्तबाहुलीबाट प्रदान गरिएको थियो । चुम्लुङको केन्द्रीय समितिबाट प्राप्त सहयोग रकम रु १० हजार जिल्ला समिति झापाले पृथ्वी मा. बि. दमक–७, झापामा अध्यनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरु क्रमश अनु लिम्बू कक्षा–९, बिरध्वोज लिम्बू कक्षा–९, रिया लिम्बू कक्षा–१० र टीका लिम्बू कक्षा–१० लाइ जनही दुई हजार रुपैयाँ प्रदान गरेको छ ।


किरात याक्थुङ चुम्लुङ शाखा इजारायलको बार्षिक रु. १० हजार प्राप्त सहयोगमा विगत ३ बर्षदेखि निरन्तर पढी हाल कक्षा ८ मा अध्यनरत गरिब तथा जेहेन्दार इन्द्रबहादुर सङबाङफेलाई कक्षा १० सम्म पढाईने झापा जिल्ला अध्यक्ष भक्त खेवाङले बताए ।

पालाम प्रतियोगितामा क्रमश प्रथम, द्वितिय र तृतियमा दिलकुमार लोवा लिम्बू, दासमाया लिम्बू र मनकुमार थलङलाई जनही तीन हजार, दुई हजार र एकहजार प्रदान गरिएको थियो ।

प्रमुख अतिथि माननीय पुर्व सांसद तथा इतिहासबिद् शेर बहादर इङनाम लगायत विशेष अतिथि चुम्लुङका सल्लाहकार जीत बहादुर लाओती, चुम्लुङका पुर्व इलाम जिल्ला सचिव सन्तोष नेम्बाङ, चुम्लुङ मेचिनगर अध्यक्ष दिल बहादुर आङदेम्बे, प्रदेश सदस्य इक्सा सङबाङफे राष्ट्रिय पार्सद सदस्य अमृत योङहाङ, क्याप्टेन जगन धोज वनेम, पुर्व जिल्ला अध्यक्ष, टेक बहादुर योङहाङ, केन्द्रिय सदस्यहरु बिष्णु माया चेम्जोङ, पुर्ण हाङसुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


प्रमुख अतिथि इङनामले कार्यक्रमलाई सम्बोधन गर्दै ‘हामी लिम्बुहरु भनेर गर्व गरिरहेका हुन्छौ तर यथार्थमा हामी लिम्बू होइन याक्थुङबा हौ’ । “हाम्रो पहिचान भनेको लिम्बू होईन, याक्थुङबा हो” उनले भने, लिम्बुवान भूमि हो, लिम्बुवान भुगोल हो, लिम्बुवानमा सबै जातीहरु बसोबास गर्न सक्छन त्यसैले संस्थाको नाम पनि किरात याक्थुङ चुम्लुङ भएको हो, किरात लिम्बु चुम्लुङ होईन । त्यसैगरि शुभकामना मन्तब्य राख्ने क्रममा बक्ताहरुले किरात लिम्बू भाषा लिपिको संरक्षण सम्बद्र्धनका साथै प्रत्येक लिम्बू समुदायमा अनिवार्य भाषा सिक्नु पर्ने, बोल्नु पर्ने, जन्मिदै गरेका बाल बच्चाको नाम भाषाबाटै राख्नु पर्ने, प्रत्येक लिम्बुहरुले सिलामसाक्मा अनिबार्य राख्नु पर्ने, जनसङ्या बृद्धि, गर्नुपर्ने, लिम्बुहरु एकजुट हुनुपर्ने र धर्मको महलमा किरात धर्म लेख्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका अध्यक्ष भक्त खेवाङ लिम्बुको अध्यक्षतामा, स्वागत मन्तब्य चुम्लुङका जिल्ला कार्यबहाक कोषाध्यक्ष गुमानसिंह सङबाङफे लिम्बु र सन्चालन जिल्ला सह–सचिव कबिन्द्र सेर्मा लिम्बुले गरेका थिए ।

सम्बन्धित खवर