विश्व शान्ति र एकताका सूत्रधार लिङ्देन आत्मानन्द सेइङ - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व शान्ति र एकताका सूत्रधार लिङ्देन आत्मानन्द सेइङ


ज्ञानु केदेम
जन्म र बाल्यकाल

किरात धर्म दर्शन दाता, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले वि.स. १९९० को दशकमा किरात धर्मावलम्बीहरुको मुख्य तिर्थस्थल सिन्चेई फक्ताङलुङको फेदी मारुङफुक्कु पारुङफुक्कुमा माङइङघङ (देववाणी) गर्नु हुँदा आफ्नो ६३ वर्षे जीवनकालमा पनि आफूले चाहे र सोचेजस्तो रुपमा किरात समाजलाई बनाउन नसकेकोले चित्त नबुझेको माङइङघङ गर्नु भएको थियो । पछि वि.स २००५ सालमा पनि महागुरु फाल्गुनन्दले आफ्नो देह त्याग गर्न पूर्व अब म महाचीन जादैछु खासा खाडी फेर्दैछु । यतिबेला मेरो उमेर चीनमा १० वर्ष भयो १७ वर्षको उमेर पुग्दा पुनः किरात कूलमा पितारुपी संसारिक जीवनमा आउँछु भनेर आफ्ना चेलाहरुलाई भविष्यवाणी गर्नु भएको थियो ।

त्यहीँ अनुरुप इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नं. २ (साविक इभाङ ५) चुक्चिनाम्बाको आगोटे बारीमा पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी)को कोखबाट वि.स. २०११ साल मंसिर १८ गते शुक्रबारका दिन जन्मनुभएका मुहिङगुम अङसीमाङ आत्मानन्द सेईङ (ज्योतिष नाम श्यामबहादुर) लाई किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्दको पुनः अवतार मान्छन् ।
वहाँको जन्मपछि आमालाई परेवाको मासु दिइएकोले अङसीमाङले आमाको दूध खाइदिनु भएनन् । त्यसपछि वहाँसंगै व्याँएको सिंदूरी नामको गाईको दूध खाएर हुर्कनु भयो । पछि २÷३ महिनाको भएपछि अङसीमाङलाई छोडेर आमा दोस्रो विवाह गरी आसाम तिर लाग्नु भयो । त्यसपछि वोजु जोगमाया तुम्बापोको लालनपालनमा वहाँ हुर्कनु भयो । गाई बाख्राहरुको गोठालो गर्दै पढ्न कहिलेकाहीँ गाउँको नजिकैको प्राथमिक विद्यालय पनि धाउनु भयो ।

वहाँको बाल्यकाल विद्यालयमा पढ्दा पुस्तक पढ्ने नपरी आउने, कम बोल्ने, झगडा नगर्ने, कसैलाई नराम्रो नभन्ने, झुट नबोल्ने, एकान्त मन पराउने प्रवृतिको हुनुहुन्थ्यो ।

 

 

गुरु पिता पुन्यप्रसाद लिङदेन तथा गुरुमाता श्यामजिरी चेम्जोङ

समाधिज्ञान प्राप्त

अङसीमाङले इभाङको गैरीगाउँ माङहिम छेउको सानो वनमा, जीतपुर पुछारको खत्रक्पा खोल्सी, मोरङको वक्राहखोलाको डिलमा रहेको पिपलको फेदमा गर्नुभएको ध्यान, योग साधनाको बृहत रुपमा वि.स. २०२७ मा इलामको माइ, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीको गुफाडाँडामा साउन २५ गतेदेखि माघ २५ गतेसम्म करिब ६ महिना ध्यानरत हुनुभई वहाँले समाधि ज्ञान प्राप्त गर्नुभएको थियो ।

सो ध्यानमानै आफ्नो जन्मको प्रमुख उद्देश्य मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अपूरो कार्यलाई पूरा गर्ने रहेको वहाँले थाहा पाउनु भयो । सोही वर्ष अर्थात २७ सालमानै अङसीमाङलाई इभाङको गैरीगाउँ माङहिममा किरात धर्मावलम्बीहरुले माङलाङ ताक्मा (देव स्वागत) गरेपछि वहाँलाई महागुरु फाल्गुनन्दको पुनः अवतारको रुपमा पुज्न र मान्न थालेका हुन् । यद्यपि, १३ वर्षको उमेरमै आत्मा परमात्मा जान्ने तथा विगत, वर्तमान र भविष्य जान्ने भई बालागुरु उपनामले सर्वत्र चिनिनु भएको थियो । सो समयमा वहाँले माङसेवा साम्लोहरु पनि रचना गर्नु भएको थियो ।

आशीर्वचन
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङले २७ सालमा समाधि ज्ञान प्राप्त गर्नुभएपछि गाउँ जानेक्रममा गैरीगाउँको चुक्चिनाम्बा माङहिममा ठूलो सेवा भयो । सो सेवा बालागुरुलाई स्वागतार्थ माङलाङ ताक्मा अर्थात स्वागत गर्न आयोजना गरिएको थियो । यसरी माङलाङ ताक्मा गरेर सोही वर्षदेखि वहाँलाई महागुरु फाल्गुनन्दको पुनः अवतारको रुपमा श्रद्धा चढाउँदै पूज्न थालिएको हो ।
यसै समयमा अङसीमाङले पहिलो पटक आशीर्वचन दिनुभएको थियो भनि किरात समाचारका सम्पादक तथा अङसीमाङको पूर्व निजी सचिव माङमिङसोहाङ लिङ्देन विश्व किरात आवाजमा लेख्नुहुन्छ । सो समय यता निरन्तर आशीर्वचन गर्दै आउनु भएको छ भने, वि. स. २०४९ माघ ३ र ४ गते र ५६ साल चैत्र ७ र ८ गते गरी वहाले २ पटक विश्व ब्रह्माण्डबारे भविष्यवाणी समेत दिईसक्नु भएको छ । यसरी पछिल्लो समय अङसीमाङ जहा“ पुग्नु हुन्छ त्यहा“ आशीर्वचन दिँदै आइरहनु भएको छ ।

फक्ताङलुङ यात्रा

अङसीमाङ वि. स. २०३० साल साउनमा पहिलो पटक सिन्चेई फक्ताङलुङ जानु भएको थियो । लगतै दोस्रो वर्ष ३१ सालमा पनि फक्ताङलुङ जानु भयो । यो वर्ष वहाँले आफ्नो केश त्यतै काटेर आउनुका साथै विवाह गर्नु पर्ने माङको आदेश पनि लिएर आउनु भएको थियो । त्यसपछि वि.स. २०७० जेठ २ गते तेस्रो पटक अङसीमाङ, मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन साथै स–परिवार हवाई यात्रा मार्फत फक्ताङलुङ जानुभएको थियो ।

त्यसैगरी चौथों पटकको रुपमा अङसीमाङ स–परिवार यस वर्ष पनि कार्तिक ५ गतेदेखि ११ गतेसम्म फक्ताङलुङको फेदिमा रहेको पारुङ फुक्कु मारुङ फुक्कुमा बसेर लगातार विश्व शान्ति मानव एकताको लागि सेवा गर्नु भएको थियो । यस वर्ष वहाँ ७ दिन पूरा फक्ताङलुङमै रहेर ऐतिहासिक रुपमा विश्व शान्ति मानव एकताको लागि सेवा गर्नु भएको छ । यहीँ अवसरमा अङसीमाङले फक्ताङलुङको फेदिमा रहेको पारुङ फुक्कु मारुङ फुक्कुमा निर्माण गरिएको किरात माङहिमको उद्घाटन गर्नका साथै महागुरु फाल्गुनन्दले निर्माण गरी राखेको धर्मशालाको पुनः निर्माण गरिएको भवनलाई समेत वहाँले उद्घाटन गर्नु भएको छ ।

देव विवाह

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेईङको दोस्रो पटकको फक्ताङलुङ तिर्थयात्रामा पाउनुभएको माङ आदेशलाई पूरा गर्ने क्रममा इलामको माङसेबुङ गाउँपालिका ३, (साविक बाँझो ८ इलाम) निवासी तत्कालीन सुब्बा बिर्खध्वज साँबा र साम्सुहाङ कौशिलाको जेठी छोरी पवित्रहाङमा साँबासँग वि.स २०३२ साल माघ २२ गते विहिवारको दिन इलामको माङसेबुङ गाउँपालिका २, (साविक इभाङ ५) चुक्चिनाम्बा गैरीगाउँको माङहिममा देव विवाह गर्नुभयो ।

 

 


गुरु जन्मस्थल चुक्चिनाम्बा

भूमिगत बैठक र देशद्रोहीको आरोप

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको निर्देशनमा र तत्कालीन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्वज सङबाङफेको व्यवस्थापन र संयोजनमा वि.स. २०३५ कार्तिकमा इलामको साविक महमाई ५ तमाखेको चुलिभित्र भूमिगत बैठक बसी महत्वपूर्ण निर्णयहरु पारित गरेका थिए । सोही बैठकमा किरात धार्मिक झण्डाको निर्माण गरी निर्णय पुस्तिकामा रगतको ल्याप्चे लगाई माङवाचा खाने काम भयो । यही बैठकमा किरात धर्मको पहिलो संगठन पूर्व किरात मानव सुधार संघ नामक संस्था स्थापना गरिएको थियो ।
त्यही बैठक र संगठन मार्फत अङसीमाङले तत्कालीन निरङ्कुश पञ्चायत शासनकालमा किरात धर्म, भाषा, लिपिको उत्थान र प्रचार कार्य शुरु गर्नु भएको थियो । यसरी किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा डुबेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउन किरात समुदायको घरदैलोसम्म पुग्नु हु“दा तत्कालीन प्रशासनबाट अङसीमाङलाई देशद्रोहीको आरोप लगाई गिरफ्तारका लागि दिनरात खोजी हुन थालेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले सुनाए ।

अङसीमाङको पूर्व निजि सचिव माङमिङसोहाङका अनुसार समाजलाई सही मार्ग निर्देश गर्दै, ज्ञान गुणका कुरा गर्दै हिड्दा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई झै अङसीमाङ आत्मानन्दलाई पनि लिम्वुवानका राजा इत्यादि आरोप लाग्यो । प्रहरीहरु गिरफ्तार गर्न आइरहन्थे । भागिरहन्नु पर्ने, कुनै पनि समय ज्यान जान सक्थ्यो । यस्तैमा वि.स. २०४९ साउनताका गुरु आत्मानन्द मार्नेलाई ३ लाख रुपैया इनाम दिने भन्ने हल्ला सरकारबाट गोप्य रुपमा चलाइएको भन्ने हल्ला लिम्बुवानमा सर्वत्र चल्यो । त्यही वर्ष वहाँलाई महमाई पलाँसेको मुद्दा समेत आईलाग्यो ।

माङगेन्नाको सुरुवात

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङको जन्मदिनको पावन अवसरमा वहाँको नोमाङगेन्नासँगै सावायेहाङ किरातहरुको नोमाङगेन्ना सेवा गर्ने प्रचलन निजी गुरु आश्रममा २५ औं जन्मोत्सव मनाएर कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियो । पछि यो माङगेन्ना कार्यक्रम भालुटारहु“दै माङसेबुङ तत्कालीन (मान्द्रेडाँडा) मा किरात धर्मावलम्बीहरुको केन्द्रीय माङहिम किरात हाङसाम मुजोत्लुङ माङहिम स्थापना गरेर त्यतै मनाउन थालिएको माङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङले बताए ।

त्यसपछि मान्द्रेडाँडाको नामसमेत परिवर्तन गरी माङसेवुङ नामाकरण गरेको थियो । यसरी अङसीमाङको नोमाङगेन्नासँगै किरात धार्मिकस्थल माङसेवुङको महिमा पनि दिनानुदिन बढ्दै गयो । तत्कालीन मान्द्रेडाँडालाई माङसेवुङ नामाकरण भइ ४ दशकको समय अवधिमा इलाम जिल्ला र नेपालमा मात्र सिमित्त नभई संसारभर किरात केन्द्रीय धार्मिकस्थलको रुपमा माङसेबुङ कहलिएको छ । माङसेबुङले गर्दा नेपालको इलाम जिल्ला विश्वको नजरमा परेको छ । अहिले इलामको साविक बाँझो, इभाङ र गजुरमुखी गा.वि.सलाई मिलाएर माङसेवुङ गाउँपालिका समेत नामाकरण भएको छ ।

माङसेबुङ

मुन्धुमको अध्यापन र प्रकाशन

अङसीमाङले वि.स. २०४० साल मंसिरमा ९ जना माङसेवासाबाको समूहबाट इलामको बाँझो ९, मेक्वा वेँशीमा किरात साम्जीक मुन्धुमको अध्यापन शुरु गरिएको थियो । यसैलाई वि.स. २०५० साल कार्तिक २५ गते उद्घाटन गरी किरात साम्जीक मुन्धुमको औपचारिक पढाई हुने किरात साम्जीक मुन्धुम निसामहिमको रुपमा स्थापना गरिएको छ ।

यसबाट किरात धर्म दर्शन, किरात साम्जीक मुन्धुमका सैद्धान्तिक पक्षका साथै किरात कर्म, संस्कारबारे प्रयोगात्मक शिक्षा दिन प्रारम्भ भयो । भने, वहाँकै सम्पादनमा वि.स. २०५३ मा किरात साम्जीक मुन्धुम भाग १ (कुसाङसेमा) प्रकाशन शुरु गरी अङसीमाङकै सम्पादनमा अहिलेसम्ममा किरात साम्जीक मुन्धुम भाग ८ सम्म प्रकाशन भइसकेको छ । यसरी नै अन्य भागहरुको सम्पादन पनि भइरहेको छ ।

जिम्मेवारी हस्तान्तरण

किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति र मुन्धुमलाई संस्थागत विकास गर्नका लागि र हस्तान्तरणीय सिद्धान्त अवलम्वन गर्नुहुँदै अङसीमाङले किरात धार्मिक संगठनको स्थापना गर्न शुरु गर्नु भयो । यसमा किरात धर्म, भाषा, लिपि, साहित्यको उत्थान गर्न वि.स. २०३६ माघ ७ गते किरात धर्म तथा साहित्य उत्थान संघको स्थापना गर्नुभएको थियो । भने, विश्व किरातीहरुको माङगेन्ना चोत्लुङ उठाउन वि.स. २०३७ सालमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको गठन गरेर आफ्नो अभिभारा समानान्तर दुई नेत्रको रुपमा दुई संस्था स्थापना गरी वहाँले सुरु गर्नुभएको जिम्मेवारी संस्थामा हस्तान्तरण गर्नु भएको छ ।

यसरी गठित संस्थामा संघ स्थापनाकालमै जिल्ला प्रशासन कार्यालय पान्थरमा दर्ता भए भने माङगेन्ना समिति स्थापना भएपछि लामो अवधिमा मात्र इलाममा वि.स. २०५३ सालमा किरात हाङसाम मुजोत्लुङ माङहिमको रुपमा दर्ता भयो । यसरी अङसीमाङको नेतृत्व र निर्देशनमा माङगेन्ना समितिले माङगेन्ना चोत्लुङ उठाउने जिम्मेवारी संगसँगै शाखा माङहिमहरुको रेखदेख र माङसेबुङको विकास निर्माणमा निरन्तर लागेको छ । भने, संघले किरात भाषा, लिपि साहित्यको उत्थान र प्रचार–प्रसारमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

अङसीमाङले जिम्मेवारी संस्थामा हस्तान्तरण गर्ने क्रममा माङगेन्ना सेवा समितिको मातहतमा रहने गरी किरात साम्यो साक्थिम्गेन पान्जुम्भो, किरात साम्यो माङसेवासाबा पान्जुम्भो, किरात साम्यो नालीफूङवा पान्जुम्भो, किरात साम्यो सुनुगेन थक्सुबा पान्जुम्भो, किरात साम्यो थामेन्दीङमा पान्जुम्भो, किरात साम्यो हक्चात यक्चुम र किरात साम्यो माङसिवाखाहुन पान्जुम्भो लगायत संस्थाहरु स्थापना भई आ–आफना जिम्मेवारी निर्वाह गरिरहेका छन् । त्यसैगरी गुरु निजी आश्रममा रेखदेख गर्न निजी गुरु आश्रम कृषि समिति, निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समिति र माङसेबुङ विकास समिति पनि गठन गरिएको छ ।

विकासमा अङसीमाङको देन

किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृतिको संरक्षण र प्रचार–प्रसारमा अङसीमाङको जति गहन योगदान रहेकोको छ त्यतिनै भौतिक विकास निर्माणमा पनि वहाँको देन रहेको छ । अङसीमाङ तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले गुरु निजी आश्रमका लागि ताप्लेजुङको काबेली माङहिम, पान्थरको फूङसेन, कुरुम्बा, इलाम बाँझोको नवमीडाँडा, झापाको दमक लगायतका ठाउँमा हेर्नुभएको थियो । तर, ती ठाउँमा विभिन्न कारणले निजी आश्रम निर्माण हुन सकेनन् ।

त्यसपछि बाँझो– ९, लारुम्बाको सुब्बाबारीमा जग्गा मिलाएर वि.स. २०३५ कार्तिक २५ गतेबाट वहाँहरु स्थायी रुपमा बसोबास गर्न थाल्नुभएको माङगेन्ना अध्यक्ष योङहाङको भनाई छ । वहाँहरु लारुम्बामा स्थायी बसोबास गर्न सुरु गर्नुभएपछि अङसीमाङको नेतृत्व र निर्देशनमा माङसेबुङमा अर्बौको भौतिक संरचनाहरु निर्माण भएका छन् । यसरी स्थायी बसोबासपछि पठनपाठनका लागि स्कूलको अभाव महसुस गर्नुभयो । अनि नजिकै रहेको भालुटारमा सरस्वती प्रा.वि.को स्थापना गर्नु भयो, हाल सो स्कूलमा मा.वि.सम्म अध्ययन् अध्यापन भइरहेको छ । त्यसैगरी फाल्गुनन्द मार्ग (दमक–चिसापानी पञ्चमी सडक खण्ड) घोषणा गराउँन र माङसेवुङमा खानेपानीको अभाव रहेकोले खानेपानी व्यवस्था गराउनका लागि वि.स. २०३६ सालमा अङसीमाङले धनकुटामा पुगेर तत्कालिन राजा विरेन्द्रलाई अनुरोध गर्नु भएको थियो । पुनः ५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अनुरोध गर्नु भएपछि फाल्गुनन्द मार्ग घोषणा भएको थियो । तर, पनि सो मार्गको नाम वैधानिक रुपमा फाल्गुनन्द मार्ग नामाकरण हुन बाँकी रहेको छ ।

यसरीनै अङसीमाङकै पहल र निर्देशनमा साढे ५ किलोमिटरको माङसेवुङ चक्रपथ किरात धर्मावलम्बीहरुको श्रमदानमा निर्माण भई ६१ साल कार्तिक २५ गते फाल्गुनन्द जन्मजयन्तीको अवसरमा उद्घाटन गरिएको थियो । त्यसपछि महागुरु फाल्गुनन्दकालीन माङहिमहरु पान्थर चोकमागु ३ लब्रेकुटीमा अवस्थित किरात साङसेन वरक चोत्लुङ माङहिम, पान्थरकै सिलौटी माङहिम, इलामको जीतपुरमा अवस्थित किरात नाम्बीनयक फाल्गुनन्द माङहिम र पान्थरको तुम्बेवा माङहिमहरुमा चक्रपथ निर्माण गर्नुभएको छ । महागुरु र वहाँकै जन्मस्थल इलामको इभाङ ५ चुक्चिनाम्बा गैरीगाउँ माङहिम परिसरमा पनि अङसीमाङकै पहलमा सडक पुगेको छ भने, वर्षेनी फाल्गुनन्द मार्ग मर्मतका लागि पहल गर्नुहुँदै वहाँकै पहलमा झापाको बिर्तामोडबाट इलामको दानाबारी महमाई हुदै माङसेवुङको भञ्ज्याङमा फाल्गुनन्द मार्गमा जोडिने कच्ची सडक खण्ड निर्माणपछि यातायात सञ्चालन हुदै आइरहेको छ ।

त्यसैगरी माङसेवुङ, फुलुङगी खत्रक्पा जीतपुर हुदै इलाम सदरमुकाम जोडिने सडक निर्माण पनि धमाधम भइरहेको छ । यसरीनै वहाँकै पहल र निर्देशनमा झापाको दमकमा दमक–माङसेवुङ केबुलकार निर्माणको योजना अघि बढाइएको छ । भने, किरात धार्मिक संस्थाको संयोजनमा स्थापना गर्नुपर्ने किरात विश्व विद्यालयको स्थापनामा पनि अङसीमाङ उतिकै लाग्नु भएको छ । पछिल्लो समयमा लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पसको स्थापना गर्नका लागि पनि वहाँले पहल गरिरहनु भएको छ । अङसीमाङको जीवनकालमा यस बाहेक भौतिक संरचनाको रुपमा देश विदेशमा गरी करोडौको लगानीमा सयौ माङहिमहरु स्थापना गर्नु भएको छ । यसले देशको पर्यटन व्यवसायमा ठूलो टेवा पुगेको छ । अझ दर्जनौ स्थानमा महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गराउन पनि अङसीमाङको अतुलनीय योगदान रहेको पाइन्छ । यसरी अङसीमाङको त्याग र देनले माङसेबुङ संसारभर कहलिएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुममा विश्वले चिन्न थालेको छ ।

किरात हाङसाम मुजोत्लुङ माङहिम

सञ्चार प्रेमी

किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृतिको संरक्षण र उत्थान गर्दै तिव्र गतिमा चौतर्फि प्रचार–प्रसार गर्न सञ्चारको आवश्यक रहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ बताउनुहुन्छ । यसका लागि आफ्नै सञ्चार गृहको स्थापना गर्नु आवश्यक रहेको समेत बताउनुहुन्छ । वहाँले विगत लामो समय यता किरात धर्म दर्शनलाई पूर्णता दिनका लागि आफ्नै प्रेस स्थापना गर्न आवश्यक कदम चाल्न सम्बन्धित पक्षलाई निर्देशन दिइरहनु भएको छ ।

अङसीमाङकै अगुवाईमा वि.स. २०४२ सालमा किरात लिपि छाप्ने प्रेस भारतको कलकत्ताबाट ल्याएर ४७ साल फागुन ८ गते किरात प्रिन्टिङ प्रेसको स्थापना भएको थियो । यो प्रेस किरात लिपि छाप्ने विश्वको पहिलो प्रेस रहेको मानिन्छ । धार्मिक, सामाजिक र राजनीतिक जुनसुकै गतिविधिहरु पनि सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न जरुरी रहेको अङसीमाङ बताउनुहुन्छ । किरात धार्मिक ग्रन्थ किरात साम्जीक मुन्धुम, किरात धर्म दर्शन र कर्म संस्कारहरुलाई विश्वव्यापीकरण गर्न आफ्नै प्रेस छापाखाना स्थापना गर्ने र सञ्चार विधाको छापा माध्यममा पत्रपत्रिका, पुस्तकहरु प्रकाशन र विद्युतीय माध्यममा रेडियो, टेलिभिजन, वेवसाइड र अनलाइनहरु स्थापना गरी निरन्तर लाग्नु पर्ने अङसीमाङको भनाइ रहेको छ ।

सांस्कृतिक मोह

किरात धर्म दर्शन र कर्म संस्कार संस्कृतिको संरक्षण र प्रचार–प्रसार गर्ने शिलशिलामा अङसीमाङले तत्कालीन कुरीति कुसंस्कारमा डुबेका किरात समुदायमा किरात धर्म दर्शन र कर्म संस्कारको बारेमा सिवाखाहुन मात्र दिएर धार्मिक जनचेतना फैलाउन असम्भव महसुस गर्नुभई गीत संगीत मार्फत नाचगान गराउँदै किरात धर्म दर्शन र कर्म संस्कार संस्कृतिलाई संरक्षण र प्रचार–प्रसार गर्न थाल्नुभयो । यसरी शुरुवात गर्नुहुँदा गीत संगीतमा गहिरो रुचि राख्नु हुने अङसीमाङ आफ्ै गीतकार, गायक र संगीतकारको रुपमा रहनु भएको थियो । वहाँले गीत लेख्ने, संगीत भर्ने र गीत गाउने मात्र गर्नु भएन गाउँगाउँमा नाटक पनि प्रर्दशन गरेको अङसीमाङ बताउनुहुन्छ । वहाँले सृजना गर्नु भएको गीत संगीतमा किरात धार्मिक जागरणका सन्देशमुलक गीत र माङसेवा साम्लोहरु रहेका छन् ।

यसरी अङसीमाङले सांस्कृतिक जागरण अभियान पहिलो पटक वि.स. २०३०÷३१ सालताका ताप्लेजुङको काबेली माङहिममा किरात सांस्कृतिक कार्यक्रम आयोजना गरी सुरु गर्नु भएको थियो । वहाँले गीत लेखेर संगीत गर्नु भएका र किरात मौलिक गीत संगीत तथा माङसेवा साम्लोलाई संरक्षण, सम्वद्र्धन गर्दै, किरात संस्कार संस्कृतिलाई संसारभर प्रचार–प्रसार गर्न वहाँको निर्देशनमा वि.स. २०३७ सालमा केन्द्रीय किरात सांस्कृतिक समिति औपचारिक रुपमा स्थापना गरिएको थियो । त्यसपछि यहीँ संस्थाको संयोजनमा वि.स. २०५६ सालमा माङसेवुङमा किरात साम्मुक इत्लोहिम (किरात रेकर्डिङ स्टुडियो) स्थापना गरी माङसेबुङमा गीत रेकर्डिङ गरिएको थियो ।

अङसीमाङले रचना गर्नुभएको गीतहरु किराती चुम्से, ओत् तागेरा, तान्छोदिङ तारे, थाङमाङ लाम्दो, इक्सादिङ खाम्बेक, लछा पुदिक लगायतका गीतहरु किरात साम्यो साक्थिम्गेन पान्जुम्भोले अङसीमाङको सोलो एल्बमको रुपमा रेकर्ड गरेर अडियो र भिडियोको रुपमा वजारमा ल्याएको छ । अङसीमाङ आफैमा पनि मिठो स्वरका धनि हुनुभएकोले माङसेवा साम्लो, हाक्पारे, ख्याली, पालाम, यारीछाम जस्ता किरात मौलिक मुन्धुमी छन्दहरु गाउनुहुन्छ । यसरीनै मौलिक गीत संगीतमा मेलोडीलाई सही न्याय दिन अनुभवि हुनका साथै माङलाङ, केलाङ, थेबालाङ युमालाङ अनि तिन्दिङ नाहेनलाङमामा पनि अङसीमाङको विशेष आकर्षण रहेको छ ।

राजनीतिक चिन्तक

राजनीतिक दर्शनले राज्यको परिचालन र शासकीय स्वरुप निर्धारण गर्ने हुँदा अङसीमाङले देशको राजनीतिप्रति पनि चासो लिइरहनु हुन्छ । हुन त अङसीमाङ राजनीतिककर्मी नभई अध्यात्मिकवादी, दार्शनिक भएपनि राजनीतिक चिन्तक वा विश्लेषकका रुपमा वहाँसँगको सामिप्यतामा उठ्बस गर्दा अनुभूत हुने तत्कालीन माङगेन्ना मासिकमा वनेम विक्रम फागोले उल्लेख गर्नु भएको छ । फागोका अनुसार अध्यात्मिकवादी दार्शनिक अङसीमाङले राजनीतिक निरपेक्षवादी भएर किरात धर्म दर्शन र साहित्य संस्कारको प्रचार–प्रसार गर्दै अघि बढ्रिहनु हुँदा समेत अराजक प्रतिक्रियावादीहरुको समूहले अङसीमाङलाई राजनीतिक रंगको हिलो छ्यापेर विवादमा ल्याउने प्रयास निरन्तर गरिरहेका छन् ।

वहाँले विश्व शान्ति मानव एकताको नारा लिएर समानता र समावेशितामा सबै जनतालाई मिलाएर राज्य सञ्चालन गर्न राजनेताहरुलाई अनुरोध गरिरहनु भएको छ । नेपालमा चलेको १० वर्षे द्वन्द्धकालमा तत्कालीन शसस्त्र विद्रोही माओवादीलाई होस् या नेपाली शाहिसेना अनि राजनेता र नेपाली जनतालाई होस् सबैलाई हत्या हिंसा रहित शान्ति सद्भाव र एकता भएपछि मात्र देश विकास हुन सक्ने जानकारी गराईरहनु भएको थियो । यसरीनै नेपालको संविधान निर्माण र घोषणाको संघारमा पनि राजनीतिकर्मी सबैलाई एकता र शान्ति स्थापना गरी जनताको चाहनामा आधारित समानताको संविधान घोषणा गरेर राज्य सञ्चालन गर्न आग्रह गरिरहनु भएको थियो र आज पनि देशमा शान्ति बिना दिगो विकास सम्भव नहुने नेताहरुलाई सुझाइरहनु भएको छ । यसरी विश्वमा बढ्दो द्वन्द्ध, हत्या, हिंसा, अराजकता र अशान्तिले संसारलाई कुन मोडमा लैजाने भन्ने विषयमा अङसीमाङ बढी चिन्तित हुनुहुन्छ ।

ऐतिहासिक कार्यहरु

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको निर्देशन र नेतृत्वमा किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको संयुक्त आयोजनामा वि.स. २०५७ साल कार्तिक २४, २५ र २६ गते त्रिदिवसीय रुपमा महागुरु फाल्गुनन्द लिङदेनको ११६ औं जन्मजयन्तीको अवसरमा विश्व शान्ति मानव एकता दिवसको रुपमा किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन नेपालको राजधानी काठमाडौंमा सम्पन्न गर्दै किरात पोशाक तागाबा र मेख्ली पहिलो पटक प्रर्दशन गरेको थियो । पुनः काठमाडौंमै वि.स. २०६७ साल चैत्र २१, २२ र २३ गते किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन भव्यतापूर्वक सम्पन्न भएको थियो ।

यसरीनै मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अपूरो कार्यलाई पूरा गर्ने प्रमुख अभिभारा आफूमा रहेको उद्घोष गर्नुहुने अङसीमाङले वि.स. २०६१ साल कार्तिक २५ गते महागुरुको १२० औं जन्मजयन्तीको अवसरमा महागुरुको अपूरा भाकल पूरा गर्नु भयो र महागुरुको शालिक इलामको माङसेवुङ र झापाको दमकमा एकैदिन दुई ठाउँमा अनावरण गरि महागुरु फाल्गुनन्दको शालिक स्थापनाको शुरुवात पनि गर्नु भयो । वहाँकै पहलमा मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई नेपाल सरकारले वि.स. २०६६ साल मंसिर १६ गते नेपालको राष्ट्रिय विभूति घोषणा ग¥यो । भने, अङसीमाङकै पहलमा माङसेबुङलाई धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गरिसकिएको छ ।

 

किरात धर्मगुरु आत्मानन्द लिङदेन सेईङ

विश्व शान्ति र मानव एकता

संसारमा बढ्दै गइरहेको क्रोध, घमण्ड, अहंकार, हत्या हिंसा, विभेद र अशान्तिले विश्वलाई चिन्तित तुल्याएको अवस्थामा विश्वका सम्पूर्ण मानिसहरुबीच सौहार्दता, शान्ति, एकता, सहिष्णुता, आत्मियता, विश्व बन्धुत्वका भावना जगाउन अङसीमाङले सबैलाई आव्ह्रान गर्दै आउनु भएको छ । विश्व शान्ति र मानव एकता स्थापना गर्न समान हक र अधिकारहरु बाँडफाँड गरी सबैमा सच्चा भावना र एकताको विचार पैदा हुनु आवश्यक रहेको अङसीमाङ बताउनुहुन्छ ।

संसारका मानिसहरुमा सच्चा आत्मा र पवित्र भावनाले एकता भयो भने सबैले सुख, शान्ति र समृद्धि प्राप्त गरी मानव एकता कायम गर्न सफल भइन्ने वहाँको भनाई छ । यसरीनै धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति आस्था र अस्तित्वको विषयमा जाति, वर्ग वा समुदायबीच अनेकतामा फुट रहेका समुदायलाई एकता गराउन पनि अङसीमाङले अहम भूमिका निर्वाह गरिरहनुभएको छ ।

सम्बन्धित खवर