केर्खामा चासोक तङनाम मनाईयो(फोटो फिचर सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केर्खामा चासोक तङनाम मनाईयो(फोटो फिचर सहित)


आन्छुमे नसान
दमक/प्रकृति पूजक किरात समुदायको राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) धुमधाम मनाइएको छ । झापाको कमल गाँउपालीका स्थित केर्खामा बिबिध कार्यक्रम गरी मनाईएको हो ।

संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायिका गंगा फियाक, गायक लेखनाथ चेम्जोङ, बाल गायिका माङगेना लिम्बू, बाल गायक केहरसिंह लिम्बू, नायिका बबिता फोम्बो लगायतले प्रस्तुती दिए ।

बुधवार देखि किरात समुदायले विशेष महत्वका साथ मनाँउने पर्व लिम्बूले चासोक तङनाम, राईले साकेला, याख्खाले चासुवा र सुनुवारले फोलस्यादरको रूपमा यस पर्वलाई मनाउँदै आएका छन् ।

किरात समुदायको बाक्लो बसोबास रहेको क्षेत्र ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनुसरी, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, संखुवासभा, उपत्यका लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरुमा विविध कार्यक्रम आयोजना गरी उधौंली पर्व मनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ कमल गाँउपालिका शाखा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा केलाङ प्रतियोगिता, नृत्य प्रतियोगिता, पक्लुङ लेप्मा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

उधौली अर्थात् न्वागी पूजासहित मनाइने चासोक तङ्नाम लिम्बू समुदायमा अनादिकालदेखिनै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा रही आएको छ । अन्न पाक्ने समय कात्तिकदेखि धान्य पूर्णिमासम्मनै पाकेको अन्नबालीलाई पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पूजाको रूपमा समेत लिइन्छ ।

किरात समुदायको परम्परागत भेष–भूषा र गर–गहनाको पहिरनसहित पालाम, यालाङ, केलाङको समेत आयोजना गरिएको थियो । किरात समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किरात समुदाय विशेष संघसस्था पनि सक्रिय हुन थालेका छन् । आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्षसँग किरात याक्थुङ चुम्लुङले आव्हान गरेको छ ।

 

सम्बन्धित खवर