मिक्किन थक्तेल्ले मिम्ईन युङसिङे,
आक्तम्बा मिम्जी युङसीङ निङवा पङसिङे…….
गीत गाएर चर्चाको शिखर बटुलेकी लोकप्रिय गायिका सीता सिंघक लिम्बू किरात लिम्बू भाषा र खस नेपाली भाषा दुवैमा दख्खल राख्न सक्ने प्रतिभा हुन् । गीतकार फुङसा पन्धाकको शब्द तथा संगीतकार राजु आङदेम्बेको संगीत रहेको यस गीतलाई दर्शक स्रोताले औंधी रुचाए ।
गीत संगीतकै माहोलमा हुर्केकी सीता बाल्यकाल देखिनै गाउँघर र स्कूलमा साथीहरुसँग नाँच्ने गाउने गर्दागर्दै, गीत संगीतमा होमिएका उनी प्रेरणाको स्रोत आफ्नो परिवारलाई मान्छन् । उनले सानै देखि गीत गाएपनि रेकर्डिङ स्टुडियोमा भने १६ वर्षको उमेरमा लाजेसा याक्थुङबा (भगत सुब्बा) को शब्द संगीतमा रहेको “निङवाईल्ले खोप्तुवा” बोलको गीत पहिलो पटक रेकर्डिङ गरेकी थिइन् ।
संगीत मेरो छाँया हो सधै सँगै हुन्छ भनि बताउने उनले संगीतलाई साधना, जीवन, विचार, भावना, दुःख सुख व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छिन् । गीत संगीतमा मेहेनत गरेर निरन्तर साधना गरिरहने हो भने बाँच्न सकिने उनी बताउँछिन् । दुई दर्जन भन्दा बढी एल्बमहरुमा आवाज भरिसकेकी गायिका सीता तेह्रथुमको फेदापमा जन्मेर हाल उनी ललितपुर नखिपोटमा बस्दै आएकी छन् ।
दर्शक र स्रोताहरुले अत्याधिक रुचाएको गीति संग्रह ‘फेदापहाङमा’ पस्किसकेकी गायिका सीताले नयाँ एल्बमको तयारी गर्दै गरेको र जसको लागि लिम्बू र खस नेपाली दुवै भाषाको गीतहरु तयारी गरिरहेको बताइन् । संगीतको औपचारिक शिक्षा पद्मकन्या कलेज पढ्दा गुरु श्रीराम आचार्यबाट शुरु गरी २ वर्ष वहाँसँगै सिकेपछि भने, गुरुदेव कामत, बलराम राजवंशी र पछिल्लो पटक गुरु चण्डीप्रसाद काफ्लेसँग उनले संगीत शिक्षा लिएकी छन् ।
फक्ताङलुङ सयङको सचिव समेत रहेकी उनी भविष्यमा पनि लिम्बू तथा खस भाषाको गीतहरु पस्किरहने सोचमा छिन् । हरेक वर्ष डिसेम्बर २२ लाई जन्मदिन मनाउने उनले प्रेम केवल मानव मानवबीच मात्र नभएर प्राणी जगतकै सचेतना र अपरिहार्यताको रुपमा प्रेमलाई परिभाषित गर्छिन । प्रकृतिमा भएका सवै चिजलाई प्रेम गरिने भन्दै, आफूपनि सोही किसिमको प्रेममा रहेको उनले खुलासा गरेकी छन् ।