राजधानीमा आन्दोलनरत उखु किसानलाई न्यानो ज्याकेट - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजधानीमा आन्दोलनरत उखु किसानलाई न्यानो ज्याकेट

दमक/ चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि काठमाडौं आएका उखु किसान अहिले आन्दोलनरत छन् । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् ।

दिनहुँ माइतीघर मण्डलामा उनीहरू आफूले पाउनुपर्ने पैसा दिनुपर्ने भन्दै धर्ना दिइरहेका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो ।

तर किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गर्दै आन्दोलन यथावत रहने बताएका छन् ।

आन्दोलनरत उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट दिएका छन् । एकसरो लुगामा काठमाडौं छिरेका उखु किसान काठमाडौंको चिसोमा काँप्दै मन्त्री भेट्न, माइतीघरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूलाई चिसोमा जोगिन ५० जनालाई एक–एक वटा डाउन ज्याकेट नेता बजगाईंले दिएका हुन् ।

यसअघि सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन्। किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

बुधबार उद्योगमन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएका थिए ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले उनीहरुलाई पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका थिए ।

सम्बन्धित खवर