खत्रक्पा र फुलुङगीलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नै : मन्त्री नेम्बाङ(फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खत्रक्पा र फुलुङगीलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नै : मन्त्री नेम्बाङ(फोटो फिचर सहित)

आन्छुमे नसान
माङसेबुङ/ऐतिहासिक स्थल पवित्र भूमि खत्रक्पा र फुलुङगीलाई धार्मिक साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न वर्तमान सरकारको ध्यानाकर्षण भएको भौतीक पूर्वधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले बताए ।

किरातीहरुको महान पर्व कक्फेक्वा तङनामको अवसरमा बुधबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन ज्यूहरुको देव समुपस्थितिमा राष्ट्रिय विभूति महहागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा संरक्षण समिति र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तपोभूमि फुलुङगी फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न माघे सक्राती सत्यहाङमा शान्ति मकर मेलाको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हो ।

‘यो ऐतिहासिक भूमि पवित्र छ’ उनले भने ‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्युले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि यहि हो ।’ मन्त्री नेम्बाङले भने, ‘वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ ज्युले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि पनि यहि हो ।’

विश्व शान्तिको दिप प्रज्वलन गर्ने अवसर जुरेकोमा भाग्यमानी ठानेको प्रमुख अतिथि मन्त्री नेम्बाङले बताए । उनले भने ‘धेरै पहिले यस ठाउमा आउन चाहेको तर आउन नसकेको यसपटक भने आयोजकले निमण्त्रणा दिएपछि इच्छा पुरा भएको छ ।’ मन्त्री नेम्बाङले यस अवसरको लागि आयोजकलाई धन्यवाद समेत दिए ।

यो क्षेत्रको चौतर्फी बिकासको लागि, धार्मिक र साँस्कृतिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न किरातीहरुको धार्मिक स्थल माङसेबुङ देखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थ स्थल फङताङलुङ सम्मको मोेटरबाटो निर्माणको काम समेत सरकारले अघि सारेको मन्त्री नेम्बाङले जानकारी दिए ।

उनले खत्रक्पा र फुलुङगी माई, देउमाई र मेक्वामाईको संगम स्थल त्रिवेणीको रुपमा ठानेको र यस क्षेत्रको बिकासको लागि सदैव तयार रहेको बताए ।

यसरीनै बिशेष अतिथि पूर्व राज्य मन्त्री बेनुप प्रसाईंले किरात धर्मगुरु ज्यू संगको सामिप्यता रहेको २०४६ सालको स्मरण गरे । उनले तात्कालिन समयमा बिकट संकट बाट किरात धर्म बाँचेर आएकोे बताए ।

किरात धर्मले समाजमा भएका खराव आचरण लाई परिवर्तन गर्न किरात लिम्बू समुदायमा रहेको सुनौली रुपौली खाने, मद मदिरा सेवन गर्ने, मासु मांस सेवन गर्ने प्रथा हटाउन महत्वपुर्ण भुमिका खेलेको उनले बताए ।

प्रतिनिधि सभाका सांसद एल. पी. साँवाले प्रतिनिधि सभाको सांसदको हैसियतले यो पवित्र स्थलको समृद्धिको लागि उन्नती प्रगतीको लागि सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि भौतीक पूर्वधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ, बिशेष अतिथि पूर्व राज्य मन्त्री बेनुप प्रसाई, देउमाई नगरपालिकाका प्रमुख र माई नगरपालिकाका प्रमुख दिपक थेबे र माङसेबुङ गाँउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोलाई सम्मान समेत गरिएको थियो ।

यसैगरि पुस २५ गतेबाट सुरु भएको  माघे सक्राती सत्यहाङमा शान्ति मकर मेलाको  समापन समारोह माघ १ गते साँझ खत्रक्पामा एक लाख आठ हजार र फुलुङगीमा एक लाख आठ हजार दिप प्रज्वलन गरि विश्व शान्ति तथा मानव एकताको कामना गरिएको समारोहका महासचिव काजी लिङदेनले बताए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ ज्यूले अमृतमय आशिर्वचन प्रदान गर्नु भएको कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तपोभूमि फुलुङगी फाउण्डेसनका अध्यक्ष जगत बहादुर लाओतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर