राष्ट्रियसभा निर्वाचन सम्पन्न, ९८ प्रतिशत मतदान - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रियसभा निर्वाचन सम्पन्न, ९८ प्रतिशत मतदान


दमक/ आज सम्पन्न भएको राष्ट्रियसभाको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ ।

राष्ट्रियसभाको १८ रिक्त पद पुत्र्तिका लागि बिहान १० बजेबाट मतदान कार्य सुरु भएर अपरान्न ४ बजे सकिएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको जानकारी दिए । श्रेष्ठले अहिले मतपेटिका संकलन भइरहेको बताए । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिने र त्यसपछि मतगणना सुरु गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ हुने श्रेष्ठले जानकारी दिए । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए ।

निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मतदान भइरहेको हो । ५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने गर्छन् ।

सम्बन्धित खवर