राष्ट्रियसभाको अन्तिम मत परिणाम सार्वजनिक, कांग्रेस ‘क्लिन स्विप’ - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रियसभाको अन्तिम मत परिणाम सार्वजनिक, कांग्रेस ‘क्लिन स्विप’


माङसेबुङ/राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा र नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका हुन् ।

राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ’क्लिन स्विप’ भएको छ । कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ सिट गुमाएको छ ।

गण्डकी प्रदेश गण्डकी प्रदेशका दुवै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४६२ मतभारसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २४० मतभार ल्याए ।

श्रेष्ठ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए ।

गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकी भगवती न्यौपानेले कांग्रेसकी विमला गौचनलाई पराजित भएकी छन् । यस प्रदेशबाट राष्ट्रियसभामा निर्वा्चित कांग्रेसका सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुईवर्षे कार्यकाल सकिएपछि ती पदमा निर्वाचन भएको थियो ।

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव विजयी हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका छन् । सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए ।

अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन् । महिलार्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फ राजपाका राधेश्याम पासवान विजयी भए । प्रदेश ५ बाट पनि तीनजना नेकपाकै उम्मेदवार विजयी भएका छन् । प्रदेश ५ बाट नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भए । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

प्रदेश १ बाट पनि तीनजना नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वा्चित भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वा्चित भएका हुन् ।

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेकपाका उम्मेदवार विजयी भएका छन् । अन्यबाट मायाप्रसाद शर्मा र महिलातर्फ सुमित्रा विसी विजयी भए ।

बाग्मती प्रदेशबाट नेकपाका दुईजना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ गंगाकुमारी बेल्बासे, अन्यतर्फ बेदुराम भुषाल विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन् । महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी भइन् भने स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरेका हुन् ।

बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ ।

सम्बन्धित खवर