अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार


काठमाडौं / सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् ।

अध्यादेशको बारेमा पार्टी भित्र र बाहिरबाट चर्को विरोध भएपछि प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच प्रधानमन्त्री निवास बालुवाटारमा अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

स्वयंम नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका छन् । बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

यसरी अध्यादेश बारे विवाद बर्दै गएपछि दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पाटी भित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छन् । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

 

सम्बन्धित खवर