माङसेबुङमा सामुदायिक क्वारेन्टाइन स्थापना - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा सामुदायिक क्वारेन्टाइन स्थापना

माङसेबुङ / कोरोना भाइरस(कोभिड–१९)संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ र ५ मा सामुदायिक क्वारेन्टाइन स्थापना गरिएको छ ।

पढाई तथा विभिन्न रोजगारीमुलक कामका शिलशिलामा गाउँपालिका बाहिर बसिरहेका नागरिकहरु लकडाउनको बेला गाउँ प्रवेश गर्न थालेपछि परिवार र समुदायमा घुलमिल हुन नदिन सामुदायिक क्वारेन्टाइन स्थापना गरिएको हो ।

माङसेबुङ गाउँपालिका ३ स्थित मनिपुरमा स्थानीय सामुदायिक स्वास्थ्य सेवा इकाईको भवनमा र माङसेबुङ ५ स्थित सरस्वती माविमा सामुदायिक क्वारेन्टनइन स्थापना गरिएको छ ।

बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा राख्न सरकारको नीति भएपनि बढी जोखिम हुने भएकाले गाउँपालिकाले निर्णय गरेर सामुदायिक क्वारेन्टाइन स्थापिना गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

‘बाहिरबाट आएकालाई २ सातासम्म होम क्वारेन्टाइनमा राख्ने संघीय सरकारको नीति र निर्देश छ । तर हाम्रो जस्तो ठाउँमा परिवारसँग घुलमिल हुने भएकाले संक्रमणको बढी जोखिम हुने र समुदायमा मनोवैज्ञानिक त्रास देखियो’ अध्यक्ष इदिङगोले भने, ‘गाउँकार्यपालिकाको बैठकबाट पालिकाबाट निर्णय गरेर प्रत्येक वडाका सार्वजनिक स्थलमा सामुदायिक क्वारेन्टाइन स्थापना गरिएको हो ।’

यसअघि माङसेबुङ गाउँपालिका ४ स्थित सरस्वती आधारभूत विद्यालय सिमलटार र माङसेबुङ २ स्थित खाम्नुवा आधारभूत विद्यालयमा सामुदायिक क्वारेन्टाइन स्थापना गरिएको थियो ।

सरस्वती आधारभूत विद्यालयको क्वारेन्टाइनमा ३ जना, खाम्नुवा आधारभूत विद्यालयको क्वारन्टाइनमा १२ जना, सरस्वती माविको क्वारेन्टाइनमा ६ जना रहेका छन् ।

मनिपुरको क्वारेन्टाइनमा भने हालसम्म कसैलाई राखिएको छैन । यसपछि गाउँपालिका भित्रनेहरुलाई त्यहाँ राखिने गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा बसेका काठमाडौं उपत्यकासहित बारा, लमजुङ, पर्वत, तनहुँ, गोरखालगायका क्षेत्रबाट लकडाउनको समयमा गाउँपालिका प्रवेश गरेका थिए ।

सामुदायिक क्वारेन्टाइनमा रहेकाहरुलाई खानाको व्यवस्था माङसेबुङ गाउँपालिकाले व्यवस्था गरेको छ । उनीहरुलाई २ साता राखेपछि ¥यापिड टेस्ट गरिनेछ ।

टेस्टमा नेगेटिभ भएमा घर पठाइने र पोजेटिभ आएमा प्रदेश सरकारले निर्माण गरेको कोरोना उपचार अस्पतालमा पठाइने गाउँपालिका अध्यक्ष इदिङ्गोले जानकारी दिए ।

सम्बन्धित खवर