माङसेबङ / विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड– १९) सम्भावित संक्रमणबाट बच्न, रोकथाम र नियन्त्रण गर्नको लागि माङसेबुङ गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा विभिन्न संस्थाहरुले सहयोग गरेका छन् ।
आईतबार भुलभुले सामुदायिक विकास केन्द्र माङसेबुङ १, ले १५ हजार रुपैयाँ सहयोग गरेको छ । केन्द्रका अध्यक्ष पूर्ण लिम्बूले माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई १५ हजारको सक्कल भौचर हस्तान्तरण गरे ।
त्यस्तै माङसेबुङ गाउँपालिका १ स्थित रहेको हाङमायक बहुउद्देश्यीय सहकारी संस्थाले १० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहकारी संस्थाले गाउँपालिकाको विपद व्यवस्थापन राहत कोषमा रकम जम्मा गरेको सक्कल भौचर गाउँपालिकालाई आईतबार उपलब्ध गराएको हो ।
त्यसरीनै माङसेबुङ इसाई एकता समाजले गाउँपालिकालाई ६ थान थर्मल गन प्रदान गरेको छ ।
इसाई समाजले गाउँपालिकामा थर्मल गनको अभाव भएको जानकारी पाएपछि माङसेबुङ गाउँपालिकाका विभिन्न वडामा रहेका विभिन्न मण्डलीहरुबाट रकम संकलन गरी जम्मा ५२ हजार ८ सय रुपैयाँ बराबरको थर्मल गन प्रदान गरेको हो ।
प्रत्येक वडालाई एक थानको दरले थर्मल गन पठाउने गरी आइतबार गाउँपालिकाको कार्यालयमा समाजका अध्यक्ष राजवीर वान्तवा (आमोस) ले गाउँपालिकाका अध्यक्ष इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई हस्तान्तरण गरे ।
गाउँपालिकालाई सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष इदिङ्गोले सहयोगी संस्थाहरुलाई धन्यवाद दिए ।