धूम्रपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको उच्च जोखिम - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धूम्रपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको उच्च जोखिम


काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले सबै उमेर समूहका व्यक्तिलाई सचेत हुन आग्रह गरे ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा अझ संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले त्यस्ता पदार्थ प्रयोग गर्न छोड्न अपिल गरेको छ ।

अहिलेसम्म देशभर १७ हजार ८२१ जनामा ‘पीसीआर’ परीक्षण गरिएको छ भने ५८ हजार ५४६ जनामा ‘आरडीटी’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

देशभर १२ हजार ७०१ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने १५३ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

आइसोलेसनमा बस्नेहरु प्रदेश नम्बर–५, प्रदेश नम्बर–२ र वाग्मती प्रदेशमा बढी रहेका छन् भने सबैभन्दा कम काठमाडौंमा रहेका छन् ।

८८ जना संक्रमितहरुको भने देशभरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर