नेपालमा धार्मिक शिक्षा र मुन्धुम शिक्षाको अभ्यास - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा धार्मिक शिक्षा र मुन्धुम शिक्षाको अभ्यास

धार्मिक शिक्षा

नेपाली शिक्षा प्रणालीमा माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यवसायिक र परम्परागत धार्मिक शिक्षाका रुपमा वर्गीकरण गरिएको छ । नेपाली शिक्षाको आधारको रुपमा परम्परागत धार्मिक शिक्षा रहेको थियो । नेपालमा औपचारिक शिक्षाको इतिहास धेरै लामो छैन । राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि. सं. १९१० असोज २७ मा दरबार हाईस्कूल स्थापना गरेपछि मात्र औपचारिक शिक्षाको प्रारम्भ भएको मानिन्छ । औपचारिक शिक्षाको शुरुवात हुनु पूर्व नेपालमा हिन्दु धर्म अन्तरगत गुरुकूल र बौद्ध धर्म अन्तरगत गुम्बा शिक्षा प्रचलनमा थियो ।

गुरुकूल शिक्षाको प्रचलन प्राचिन कालदेखि नै रहेको पाइन्छ । गुरुकूल शिक्षामा ऋषिहरुले आफ्नो आश्रममा विद्यार्थीहरुलाई वेद, उपनिसद, कर्मकाण्ड र अत्यात्मिक ज्ञान प्रदान गरिन्थ्यो । गुरुकूल शिक्षामा शिक्षक नै ज्ञानको स्रोत मानिन्छ । गुरुकूल शिक्षा प्रणाली शिक्षक केन्द्रीत हुन्छ । हाल नेपालमा १०० वटा गुरुकूल विद्यालयहरु रहेका छन् ।

यसैगरी गुम्बा शिक्षालाई पनि नेपालको मौलिक शिक्षाको रुपमा लिइन्छ । गुम्बा शिक्षामा बौद्ध धर्म दर्शन र मूल्य मान्यताहरु पठन पाठन गरिन्छ । गुम्बा शिक्षामा त्रिपिठकका साथै योग र ध्यानका कक्षाहरु समावेश गरिएको हुन्छ । हाल नेपालमा दर्ता गरिएका ११४ गुम्बा विद्यालयहरु रहेका छन् । अनौपचारिक रुपमा सयौं गुम्बा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

मुस्लिम शिक्षाका रुपमा मदरसा शिक्षा अभ्यासमा रहेको छ । नेपालमा ९०७ वटा मदरसा विद्यालयहरु सञ्चालनमा रहेका छन् । नेपाली धार्मिक शिक्षाको रुपमा किरात मुन्धुम शिक्षा पनि विकास भएको छ । नेपालमा दुई वटा मुन्धुम विद्यालयहरु रहेका छन् । यसको विस्तार हुने क्रम बढेको छ । नेपाल सरकारले परम्परागत धार्मिक शिक्षालाई पनि शिक्षाको मूलधारमा समावेश गर्ने नीति तथा कार्यक्रम तय गरेको छ ।

मुन्धुम शिक्षाको अभ्यास

मुन्धुमलाई एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रुपमा हस्तान्तरण गर्ने परम्परा लामो समयदेखि प्रचलनमा रहेको छ । तर, औपचारिक रुपमा मुन्धुमको पठन–पाठनको इतिहास धेरै लामो छैन् । किरात लिपि र मुन्धुम शिक्षाको प्रचार–प्रसार गर्ने क्रममा अठारौं शताब्दीमा सिरिजंगा सिं थेबेले सिक्किममा सहादत प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले मातृभाषामा मुन्धुम शिक्षाका विषय औपचारिक रुपमा उठान गर्नुभएको थियो । महागुरु फाल्गुनन्दको पहलमा वि. सं. १९८८ बैसाक २४–२८ गते पान्थर लब्रेमा सम्पन्न चुम्लुङले मातृभाषा मुन्धुम शिक्षा दिनुपर्ने, मुन्धुमलाई लेख्य रुपमा रुपान्तरण गर्नुपर्ने ‘सत्यधर्म मुचुल्का’ मा उल्लेख गरिएको थियो । तर, निरङ्कुश राणा शासनकालमा मुन्धुमको औपचारिक पठन–पाठन हुन सकेन । महागुरु फाल्गुनन्दले मुन्धुमलाई लेख्य रुपमा ल्याउनुभयो । लिखित मुन्धुमलाई विभिन्न माङहिमहरुमा भेला भएर सार्ने, पढ्ने कार्य अनौपचारिक रुपमा भएको थियो ।

मुन्धुम शिक्षाको औपचारिक पठन–पाठनको थालनी किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले गर्नुभएको हो । वि. सं २०४० मंसिर १८ देखि चैतसम्म माङसेबुङ ५ स्थित मेक्वा वेंसीमा मुन्धुम पठन–पाठन गर्नुभएको थियो । त्यसबेला नौ जना सेवासाबाले मुन्धुमको कक्षा लिनुभएको थियो ।

मुन्धुम पठन–पाठनका निम्ति सेउले डेरा निर्माण गरिएको माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ बताउनु हुन्छ । त्यसबेला अङसीमाङले मुन्धुम अध्यापनका साथै माङसेवा र ध्यानसम्बन्धि कक्षा दिनुभएको थियो । तत्कालीन पञ्चायती निरङ्कुश सरकारको कडा निगरानी र सोध खोज गर्न थालेपछि पठन–पाठन रोक्नु परेको योङहाङ स्मरण गर्नुहुन्छ ।

मुन्धुम शिक्षाका अध्येता सरस्वता आङबुहाङले विश्वको एक मात्र मुन्धुमशाला नामक पुस्तकमा ‘वि. सं. २०४८ सालमा इलाम श्रीअन्तु र मोरङ केराबारीकाबाट आएका केही सेवासाबालाई आश्रममा स्थान अभावका कारण मोरङ टाँडीमा मुन्धुम पठन–पाठन गरिएको उल्लेख गर्नुभएको छ । यसैगरी ‘२०५० साल जेठ १५ देखि कात्तिकसम्म भुटानी शरणार्थी विद्यार्थीहरुको एक समूहलाई गुरुआश्रमको भूइतलामा मुन्धुम शिक्षण गरिएको थियो ।’ त्यसबेला विहान ६–११ सम्म कक्षा सञ्चालन हुने गरेको आङबुहाङले उल्लेख गर्नुहुन्छ । विद्यार्थी बढ्दै गएपछि २०५० कात्तिक २५ गते माङसेबुङ मान्द्रेडाँडामा औपचारिक रुपमा मुन्धुम निसामहिमको उद्घाटन गरियो ।

२०५० पछि मुन्धुमको कक्षागत रुपमा पठन–पाठन शुरु गरियो । २०५५ सालसम्म कक्षा ३ सम्मको पठन पाठन भयो । २०५६ मंसिर १८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किरात साम्जिक मुन्धुम निसामहिमको उद्घाटन गर्नुभयो । त्यसपछि मुन्धुम शिक्षाको निश्चित पाठ्यक्रम र परिक्षाको व्यवस्था गरियो ।

यस अघि मुन्धुम निसामहिममा साम्जिक मुन्धुम, खाइक, शसिगेन, साक्थिम, किरात साम्पान आदि विषय पठन–पाठन गरिन्थ्यो । त्यसबेला मुन्धुम अध्ययन्को उद्देश्य सेवासाबा उत्पादन गर्नु थियो । २०५८ देखि मुन्धुमशालामा अंग्रेजी, गणित, विज्ञान र सामाजिक जस्ता विषयहरु थप गरियो । वालवालिकाहरुलाई दिवा समूहमा पठन पाठन गर्न थालियो । जसले मुन्धुम शिक्षालाई राष्ट्रिय शिक्षामा मूल प्रवाहिकरणको प्रयास गरेको थियो ।

हाल मुन्धुम अध्ययन् गर्ने दुईवटा निसामहिमहरु रहेका छन्ः किरात साम्जिक मुन्धुम निसामहिम र किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम । किरात साम्जिक मुन्धुम निसामहिममा विशेष गरेर प्रौढ विद्यार्थीहरु मुन्धुम अध्ययन गर्दछन् । किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिममा वालवालिकाहरु पठन पाठन गर्दछन् ।

मुन्धुम शिक्षामा पाठ्यक्रम

लामो समयसम्म मुन्धुम शिक्षाका निम्ति ठोस पाठ्यक्रम थिएन् । मुन्धुम शिक्षाका तहगत उद्देश्य, सिकाई क्रियाकलाप र मूल्यांकन सम्बन्धि निश्चित योजना थिएन । तर, २०५० सालपछि पाठ्यक्रम निर्माणको अभ्यास भएको पाइन्छ । २०५८ साल साउन १३ गते किरात साम्जिक मुन्धुम निसामहिमले पाठ्यक्रम निर्माणका निम्ति पाठ्यक्रम निर्माण समिति निर्माण गरेको थियो । यसैगरी २०६१ सालमा पनि मुन्धुम शिक्षाको पाठ्यक्रमको पहल भएको थियो ।

२०६१ देखि निसामहिममा विहानी समूहलाई लागू गरिएको पाठ्यक्रम ।

विश्वको एकमात्र मुन्धुमशाला, ७


 २०६१ देखि निसामहिममा दिवा समूहलाई लागू गरिएको पाठ्क्रम ।

किरात धर्म तथा साहित्य उत्थान संघको पहल र पाठ्यक्रम विकास केन्द्रको प्राविधिक सहयोगमा कक्षा पाँच सम्मको मुन्धुम शिक्षाको पाठ्यक्रम निर्माण भएको थियो । हाल सोही पाठ्क्रमको आधारमा कक्षा ३ सम्मको पाठ्य पुस्तकसमेत प्रकाशन भएको छ । यसैगरी मुन्धुम शिक्षा कक्षा १२ सम्मको पाठ्यक्रम निर्माण गर्नका निम्ति माङसेबुङ गाउँपालिकाले २०७६ असार २ गते पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रमविद् हरिचन्द्र लाओतीको अध्यक्षतामा एक पाठ्यक्रम विज्ञहरुको समिति निर्माण गरेको छ । समितिले किरात साम्जिक मुन्धुम, पेशा व्यवसाय, मुन्धुमी औषधी विज्ञान र कृषि प्रणाली सम्बन्धि पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाएको छ ।

तहगत संरचना

मुन्धुम शिक्षाको आफ्नै प्रकारको तहगत संरचना रहेको छ । हेक्सिङ तहका निम्ति एक वर्ष अध्ययन गर्नुपर्ने हुन्छ । जहाँ किरात लिपिमा आधारभूत लेख—पढ गर्न सिकाइन्छ । युक्सिङ तह पाँच वर्षे रहेको छ । कक्षा १–५ सम्म यस तहमा पर्दछन् । यसैगरी कक्षा ६–८ सम्म चम्सिङ र ९–१० थाङसिङ तह रहेको छ । मुन्धुम शिक्षाका निम्ति उमेर निर्धारण गरिएको छैन । मुन्धुम शिक्षाका निम्ति जात, लिङ्ग र वर्गको आधारमा विभेद गरिएको छैन् ।

सरकारी मान्यता

मुन्धुम शिक्षालाई राज्यले नेपालको एक परम्परागत शिक्षाको रुपमा सम्बोधन गरेको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किरात साम्जिक मुन्धुम निसामहिमको भवन उद्घाटन भएको थियो । २०५८ मा किरात साम्जिक मुन्धुम निसामहिमलाई परम्परागत धार्मिक विद्यालय सञ्चालनका निम्ति जिल्ला शिक्षा कार्यालय इलामले अनुमति दिएको थियो । यसैगरी २०७० मा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमलाई स्विकृति प्रदान गरिएको छ । यसका साथै मुन्धुम निसामहिम सञ्चालनका निम्ति अनुदान रकम प्रदान गर्दै आएको छ ।

किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका लागि सरकारले अनुमति प्रदान गरेको छ । युक्सिङ निसामहिमका लागि तीन जना प्राथमिक तहका शिक्षक दरबन्दी प्रदान गरेको छ । माङसेबुबाट शुरु भएको मुन्धुम शिक्षालाई सरकारले मुन्धुम शिक्षालाई व्यवस्थित गर्न पाठ्यक्रम निर्माण, शिक्षक दरबन्दीको व्यवस्था र अनुदान रकम प्रदान गरेर सरकारी मान्यता प्रदान गरेको छ ।

सम्बन्धित खवर