साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला

साँगुरीगढी / धनकुटाको साँगुरीगढी गाउँपालिकाका ३ जना वडाध्यक्षले गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् ।

साँगुरीगढी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा ताला लगाएका हुन् ।

बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका दरले रकम पठाउने र बाँकी काम गाउँपालिकास्तरीय योजनामा समावेश गर्ने निर्णय गरेसंगै वडामा कम्तीमा ४० लाखका दरले बजेट विनियोजन गर्नुपर्ने माग राख्दै वडाध्यक्षहरुले ताला लगाएको वडा न. ५, अध्यक्ष पलकबहादुर बस्नेतले बताए ।

गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि आन्दोलनमा उत्रिएको वडाध्यक्षहरुल ताला लगाएको जनाएको छ ।

आन्दोलनरत वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुझाएलगत्तै ताला लगाएका हुन् । उनीहरुले उपाध्यक्षको कार्यकक्षमा पनि ताला लगाउन खोजेपनि असफल भएका थिए । ताला लगाएको करिब आधा घण्टामा स्थानीय प्रशासनले उनीहरुले लगाएको ताला तोडेर काम सुचारु गरेको थियो ।

उपाध्यक्ष बिन्द्रा राईले गएका वर्षमा गाउँपालिकाले ५० लाखका दरले बजेट पठाए पनि यो वर्ष कोरोना रोकथामका लागि गाउँपालिकाले सबै वडामा विभिन्न काम गर्नुपर्ने भएकाले बजेट कटौती गर्नुपरेको बताइन् ।

उनले असन्तुष्ट वडाध्यक्षहरुले छलफलको माध्यमबाट समस्या समाधानका लागि गाउँपालिकासँग सहकार्य गर्नुपर्ने बताइन ।

सम्बन्धित खवर