अराष्ट्रिय भारपेनी माइली - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अराष्ट्रिय भारपेनी माइली

कुकुर कविता

माइली
यतिका सम्म तिम्रो जिन्दगी
पालाम गाएरै सकायौ
पासलाम सुनाएरै बितायौ
तिम्रो पालाम सुनेर मन्त्रमुग्ध नहुने को होलान र यहाँ ?
तिम्रै आँगन छेउ बग्ने तमोर पनि
टक्क अडिएर तिमीलाई एकफेर सुन्छ र बग्दै जान्छ
फेदेन छुन्दै बहने आगेजुङको हावाले पनि
तिम्रो पालाम सास मारेर एकखेप तिमिलाई सुन्छ

आँधी हुरी नभनी
घाम पानी नभनी
सडकका बटुवाहरुलाई पालाम सुनाउछौ
चोक गल्लिमा उभिएर हाक्पारे गाउँछौँ
कहिले त चौतारीमा गफिन्दै गरेका जोडीहरुलाई सुनाउछौ
कहिले पालामको लय खोज्दै आफै गुनगुनाउँछौ
तिबेला,
तीनै उरन्ठेउला लिम्बु भुराहरुले मान्छे खाने भाषा नबोल भन्दै
तिमीलाई उल्टै ओरालै खेदाउछन्
कहिले हट्टाकट्टा ज्ञानी जस्ता देखिने युवाहरु
तिमीसँग नारिएर फोटो खिच्छन्

माइली भन्नू पो भा छैन्
तिमिलाई कविताको बिम्ब बनाएर कतिले चामल साटिखाए
तिमीसँगै नारिएर फोटो खिच्नेहरुले
आफुलाई कति महान र समाजसेवी ठानिए
तिम्रो सौन्दर्यको वर्णन गरेर
कतिले मुन्टो नै बाङ्गीने गरि माला लगाए

माइली,
उहिल्यै–उहिल्यै तिम्रो जवानीसँग खेलवाड गरे
अहिले तिम्रो कला र नैतिकतामा बदनाम गरे
तिमीले पोस्याएको विद्वानहरुले
यो पाली तिमीलाई सम्झेनन है

माइली,
तिमी राष्ट्रिय र अन्तर्राष्ट्रिय कुरामा ‘खेजेक’ नगर
ती फक्ताङलुङ नढलेसम्म
ती सिलौटी डाँडा नभत्केसम्म
ती तमोर नदी नसुकेसम्म
ती मुकुम्लुङ नलडेसम्म तिम्रो पालाम मर्दैन र हराउदैन्

माइली,
कहिकतै फेरि, फोटो खिचुङ न भन्दै हाँस्दै आए भने
एकफेर पालाम गाइदेउ न भन्दै क्यामरा बोकेर आए भने
तिम्रो घर कहाँ हो भन्दै कापी कलम समाएर आए भने
लुङगी सुर्काएर देखाइदिनु ल जाठाहरुलाई

तस्वीमा : भारपेनी माइली

पान्थर, हाल : युएसए

सम्बन्धित खवर