शहिद माङ्तोक–मनिल प्रतिष्ठान प्रदेशको रातो किताबमा  - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शहिद माङ्तोक–मनिल प्रतिष्ठान प्रदेशको रातो किताबमा 

दमक । शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानलाई १ नं. प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय अन्तर्गत भवन निर्माण तथा पर्यटन पूर्वधारको लागि आगामी आर्थिक बर्ष २०७७र०७८ को प्रकाशित रातो किताबमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष साथै १ नं. प्रदेश सदस्य विष्णु तुम्बाहाम्फेले बताएकी छिन् ।

लिम्बुवान स्वायत्त राज्य माग राखी आन्दोलन गर्ने क्रममा वि.सं. २०६४ साल असोज २० गते पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल खोला सडक किनारमा शसस्त्र प्रहरीको गोली लागि राजकुमार आङ्देम्बे ‘माङ्तोक’ शहिद भएका थिए ।

त्यसैगरी त्रिभूवन विश्वविद्यालयले विद्यार्थीहरुको हकहितको निमित्त गर्दै आएको स्ववियू चुनाव प्रणाली पूर्ण समानुपातिक प्रणालीबाट गरि सबै विद्यार्थी संगठनहरुलाई समेट्नु पर्छ भनेर आन्दोलन गर्दै स्ववियू चुनाव रोक्ने क्रममा झापाको धुलाबारी क्याम्पसमा वि.सं. २०६५ चैत्र ६ गते मनिल तामाङ्लाई प्रहरीको गोली लागि शहिद भएका थिए । यि द्वय शहिदहरुलाई नेपाल सरकारले जनही १० लाख रुपैयाँले राहत दिई शहिद घोषणा गरेको छ ।

लिम्बुवान आन्दोलनको क्रममा शहिद भएका द्वय शहिदहरुको स्मृतिमा २०७० सालमा झापा जिल्ला प्रशासनमा “शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठान” नामक संस्था दर्ता गरी हाल विभिन्न सामाजिक कृयाकलापमा सक्रिय रहेको प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले बताएका छन् ।

त्यसैगरी प्रदेश सरकारले शहिदहरुलाई सम्मान गर्दै बजेट विनियोजन गरेकोमा प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले प्रदेश सरकार र मञ्चबाट प्रतिनिधित्व गरिरहेकी प्रदेश सदस्य विष्णु तुम्बाहाम्फेलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खवर