
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेटबाट भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएको घोषणा गरेका छन् ।
शनिबार सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै धोनीले १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए । यस्तै भारतले च्याम्पियन्स ट्रफी जित्दा धोनी टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।
विकेटकिपर ब्याट्सम्यान धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए । जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए ।

यसैगरि धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी(ट्वान्टी खेलेका छन् । भारतका लेजेण्ड क्रिकेटर मध्येका एक धोनीले टेस्टमा ४ हजार ८ सय ७६ रन बनाएका थिए ।
यस्तै एकदिवसीयमा १० हजार ७ सय ७७ रन बनाउँदा टी(ट्वान्टीमा १६ सय १७ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ५९ छक्का प्रहार गरेका धोनीले विकेट किपरको रुपमा ८ सय २९ पटक आउट गरेका थिए ।
३९ वर्षीय धोनीले अन्तिम पटक सन् २०१९ को इंग्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए । त्यसपछि भने उनले भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि धोनीले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट रैनाको सन्यास

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेको केहि समयपछि, भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
शनिबार सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी(ट्वान्टी खेलेका छन् ।
भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी(ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् ।