
एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति पोर्चुगलको लिस्बनमा अवस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल गरेका थिए ।

खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई १–० ले अग्रता दिलाएका थिए । यसैगरि खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
यता खेलमा लियोनले समेत गोलको केहि अवसर पाएको थियो । तर, दुबै हाफमा पाएको अवसरलाई लियोनले सदुपयोग गर्न सकेनन् ।
लियोनका केहि उत्कृष्ट प्रहार बायर्नका गोलकिपर म्यानुएल नुएरले उत्कृष्ट बचाउ गरेका थिए ।
बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।
