
एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ ।
शुक्रबार बिहान ट्रीनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो ।
टस हारेरे पहिलो व्याटिङमा उत्रेका जमैकाले दिएको १ सय ३६ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोका लागि सुनिल नारानले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा कोलिन मुन्रोले अविजित ४९ रन, डरेन ब्राभोले १४ तथा कप्तान केइरन पोलार्डले अविजित ५ रन बनाए ।
जमैकाका सन्दीप लामिछाने, फिडेल एडवार्ड र मुजिब उर रहमानले १/१ विकेट लिए । सन्दीपले ४ ओभरमा ३० रन खर्चेर एक विकेट लिएका हुन् ।

सन्दीपले आक्रमक ब्याटिङ गरिरहेका सुनिल नारानलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गराएका थिए ।
यस अघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रनको झिनो लक्ष बनाएको थियो ।
जमैकाका ग्लेन फिलिप्सले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आन्द्रे रसेलले २५ आसिफ अलिले २२ रन बनाए ।
ट्रिनबागोका अली खान र जयदेन सिलले २/२ विकेट लिए । जमैकालाई हराएसँगै ट्रिनबागो लगातार दुई जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।