एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित हात पारेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा गुएना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले दोस्रो जित हात पारेकोो हो ।
ट्रिनिडाड एन्ड टोबेगोस्थित क्वुइन्स पार्क ओभलमा सम्पन्न खेलमा वारियार्सले दिएको १ सय ९ रनको सामान्य लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

जमैकाको जितमा क्रुमा बोन्नरले सर्वाधिक ३० रन बनाए । यस्तै ग्लेन फ्लिप्सले २६, जर्मेन ब्ल्याक्वुड र आन्द्रे रसेलले समान २३–२३ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको गुयानाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।
रोस टेलरले सर्वाधिक २३ रन बनाए । यस्तै नभिन उल हकले २० तथा निकोलस पुरनले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

गुयानालाई सस्तैमा समेट्न मुजिबउर रेहमान र फिडेल इड्वार्ड्सले ३–३ विकेट हात पारे । सन्दीप लामिछाने र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।
जितसंगै जमैकाले ४ खेलमा २ जित निकाल्दै ४ अंक जोड्ेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै ५ खेलमा २ जित निकालेको गुएना तेस्रो स्थानमा छ ।
प्रतियोगितामा सन्दीपको लगातार उत्कृष्ट प्रदर्शन जारी छ । सन्दीपले ४ खेलमा किफायती बलिङ गर्दै ५ विकेट लिन सफल छन् ।
जमैकाले आफ्नो पाँचौं खेलमा बार्बडोस ट्राइडेण्टेससंग बिहिबार बिहान ३:१५ बजे खेल्नेछ ।