
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन् ।
बिहिबार राति मर्सिडिज बेन्च एरिनामा सम्पन्न समूह ‘जी’को खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो । गोसेन्सको पासलाई सदुपयोग गर्दै वार्नरले जर्मनीलाई अघि बढाएका थिए ।
हारतर्फ उन्मुख स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनकालागि बराबरी गोल फर्काएका थिए ।

स्पेनका फरवार्ड रोड्रिगोले दुई सुन्दर अवसर गुमाएका थिए । दुवै टिम झण्डै १० महिनापछि अन्तराष्ट्रिय फुटबलमा फर्किएका हुन् ।
बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेले स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी दोस्रो पटक सम्हालेका हुन् ।
दोस्रो हाफमा फेरन टोरेसकोे स्थानमा बार्सिलोनाका युवा स्टार अंशु फातीले डेब्यु गरेका थिए । १७ बर्षको उमेरमा फातीले स्पेनको राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
स्पेनका गोलकिपर डी जियाले केही राम्रा प्रहारलाई जोगाएका थिए । सन् २०१० को विश्वकप फाइनलपछि युरोपेली फुटबलका दुई पावर हाउस देश पहिलो भेटेका हुन् ।
जर्मनीको टिममा गत महिना च्याम्पियन्स लिगको उपाधि जितेका अधिकांश खेलाडी समावेश थिएनन् ।

सोही समूहको अर्को खेलमला युक्रेनले स्विटजरल्याण्डलाई २–१ ले हराउँदै ३ अंक बटुल्यो ।
वेल्सको सुखद सुरुवात
यसैगरि वेल्सले नेसन्स लिग फुटबलमा जित सहित सूरुवात गरेको छ । बिहिबार राति भएको समूह ‘बी’को खेलमा वेल्सले फिनल्याण्डलाई १–० ले हराएको हो ।

वेल्सको जितमा किफर मूरले खेलको ८० औं मिनेटमा विजयी गोल गरेका थिए । ड्यानियल जेम्सको पासमा मूरले गोल गर्दै वेल्सलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।
दोस्रो हाफमा फिनल्याण्डले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । लियो वेसेनको भली प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
रियल मड्रिडका ग्यारेथ बेलले दुई महिनापछि पहिलो पटक खेलको सुरुवात गरेका थिए । उनले पहिलो हाफमा मात्र खेल्ने अवसर पाएका थिए ।

यसैगरि समूह बीकै अर्को खेलमा रिपब्लिकन अफ आयरल्याण्ड र बुल्गेरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।