
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले पराजित गरेको छ ।
क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा स्विडेनलाई २–० ले हराएउदै जित हात पारेको हो ।
पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो गोलसंगै रोनाल्डोले पोर्चुगलको जर्सीमा सय गोल पुरा गरेका थिए ।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् ।
उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बने । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।
फ्रान्सको जित

यसैगरि नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४–२ को जित निकालेको छ ।
डिजन लव्रेनको गोलमा क्रोएसियाले खेलमा अग्रता लिएको थियो । तर विश्व विजेता फ्रान्स खेलको ४३ औं मिनेटमा एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै एन्टोनी ग्रिजम्यानले फ्रान्सका लागि बराबरी गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका डोमिनिक लिवाकोविकको आत्मघाति गोल गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । तर ५५ औं मिनेटमा जोसिप ब्रेकालोले क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।
६५ औं मिनेटमा डायोट उपमाकोनोले फ्रान्सलाई ३–२ को अग्रता दिलाए । ओलिभर जिराउडले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको ४–२ को जित सुनिश्चित गरे ।
बेल्जियमको शानदार जित

यस्तै नेसन्स लिग फुटबलमा मंगलबार राति घरेलु मैदानमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएको छ ।
खेलमा अग्रता आइसल्याण्डले ११ औं मिनेटमा होलबर्ट एरोन फ्रिडजोनसनको गोलबाट लिएको थियो ।
एक्सन विटसेलले १३ औं मिनेटमा बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए । त्यसको चार मिनेटपचि मिक्की बत्सुवाइले बेल्जियमलाई २–१ ले अघि बढाए ।
डेरिस मार्टेन्सले ५० औं मिनेटमा बेल्जियमका लागि तेस्रो गोल गरे । केभिन डी ब्रुइनको पासलाई सदुपयोग गर्दै डेरिसले गोल गरेका थिए ।
६९ औं मिनेटमा बत्सुवाइले ब्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४–१ ले अघि बढाए । ७९ औं मिनेटमा डी ब्रुइनीकै पासलमा जेरेमी डोकुले गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाए ।
इङ्ल्याण्ड बराबरी

सोही समुहको अर्को खेलमा इङ्ल्याण्डले डेनमार्कसंग गोल रहित बराबरी खेल्दै अंक बाँड्यो । मासन ग्रिनउड र फिल फोडेन अनुशासनको कारबाहीमा परे लगत्तै डेनमार्कबिरुद्ध उत्रिएको इङ्ल्याण्डले निराशाजनक प्रर्दशन गरेको हो ।
पहिलो खेलमा समेत उसले आइसल्याण्डसंग १–० को संघर्षपूर्ण जित निकालेको थियो । दोस्रो हाफको इन्जुरी समयमा आइसल्याण्ड पेनाल्टीमा चुकेपछि इङ्ल्याण्डले जित निकालेको थियो ।
