आईपीएल : राजस्थानको रोमान्चक जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : राजस्थानको रोमान्चक जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबमाथि रोमान्चक जित निकाल्दै लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार राति सारजाह क्रिकेट स्टेडियममा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित हात पारेको हो ।

टस जितेर फिल्डिङ रोजेको राजस्थानले पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथले ५० रन र राहुल टेवाटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

टेवटियाले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्का प्रहार गरे । उनी राजस्थानको जितमा मुख्य नायक बने ।

टेवाटियाले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यसैगरि जोफ्रा आर्चर १३ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।

यसैगरि राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए ।

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

राजस्थानको यो कीर्तिमानी जित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

पन्जाबको भने यो दोस्रो हार हो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

सम्बन्धित खवर