
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्विन्टन डी कक ४६ रनमा अविजित रहे । यस अघि चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे । यसैगरि कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए ।
खराब ब्याटिङ गरेको चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । साम करणले सम्हालिएर खेल्दै चेन्नईको इनिङ्स उकासेका थिए ।

करण र ताहिरले नवौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । जुन साझेदारी आईपीएल इतिहासमा नवौं विकेटका लागि भएको उच्च साझेदारी हो ।
चेन्नईका दिपक चाहर, रुतुराज गैक्वाड र एन जगाडेसानले खाता खोल्न सकेनन् भने रविन्द्र जडेजा ७ रनमा आउट हुँदा अम्बाती रायडु २ र फाप डु प्लेसिस १ रनमा आउट भए ।
मुम्बईको जितमा ट्रेन्ट बोल्टले ४ विकेट लिदा राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए भने कल्टर निलको नाममा १ विकेट रह्यो ।

यो हार संगै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।