
एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले मोल्डे एफकेमाथि सानदार जित निकालेको छ ।
बिहीबार राति भएको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा खेलको २२ औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी पुग्यो । यसैगरि खेलको ६२ औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २–१ को अग्रता बनायो ।

खेलको ७० औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।
जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ‘बी’ मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ ।
घरेलु मैदानमै मिलान पराजित

यसैगरि इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलमा पराजित भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३–० ले पराजित भएको हो ।
लिलका युसुफ याजिसीले ह्याट्रिक गरेपछि मिलान घरेलु मैदानमै स्तब्ध भएको हो । खेलको २२ औं मिनेटमा युसुफले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए ।
यसैगरि खेलको ५५ औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ५८ औं मिनेटमा युसुफले ह्याट्रिक पुरा गर्दै लिललाई ३–० को सहज जित दिलाए ।

यसै समूहको अर्को खेलमा स्पार्टा प्राग्वेले सेल्टिकलाई ४–१ ले हराएको छ ।