आईपीएल : दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा पहिलो पटक दिल्ली क्यापिटल्स प्रवेश गरेको छ ।

आइतबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा अब्दुल समादले ३३ रन जोडे भनेदा राशिद खानले ११ रन बनाए ।

यसैगरि मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए भने जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए ।

हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिदा मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यस अघि दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि शिम्रन हिटमायर ४२ रनमा अविजित रहे भने मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।

सम्बन्धित खवर