काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले देव वाटमोरलाई नियुक्त गरेको छ ।
नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा एक वर्षका लागि क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नियुक्त गरेको हो ।
श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।
उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
नेपालले गत मार्चमा अन्तिम पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गरेको थियो । नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए ।
क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भए ।
अन्तर्वार्तापछि क्यानले वाटमोर सहित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको थियो । आईसीसीको सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।