पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी अवार्ड गौरिका र मन्देकाजीलाई - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी अवार्ड गौरिका र मन्देकाजीलाई

काठमाडौं । १७ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका महिला र मन्देकाजी पुरुषमा वर्ष खेलाडी घोषित भएका हुन् ।

गौरिकाले नेपालमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् । अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

यसैगरि पुरुषतर्फ अवार्ड जितेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

पिपल्स च्वाइज अवार्ड अरुणालाई

राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेका छन् ।

अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि अवार्ड जितेकी हुन् ।

युवा खेलाडी अवार्ड सुवासलाई

गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

यस अवार्ड जित्ने क्रममा सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सुवासले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई स्वर्ण पदक जितेका थिए । व्यक्तिगत र टिममा उनले स्वर्ण जितेका हुन् ।

उत्कृष्ट प्रशिक्षक अवार्ड नविनलाई

तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।

उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
.
स्पेशल अवार्ड आयशा र सन्तोषीलाई

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत स्पेशल अवार्ड पाएका छन् ।

२०७६ सालमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कास्य पदक जितेकी थिइन् ।.

यसैगरि एथ्लेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सन्तोषी १३ औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन् ।
.
टिम अफ दि इयर अवार्ड महिला भलिबललाई 

नेपाली राष्ट्रिय महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो । यसैगरि महिला टिमले १३ औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।

लाइफटाइम एचिभमेन्ट अवार्ड गीता र सिजरिनलाई

पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन् ।

टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्याएका गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

पारा एथलिट सम्मान डिगमलाई

पारा खेलाडी डिगम सिंह चेम्जोङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पारा एथलिट सम्मान प्राप्त गरेका छन् ।

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड खवारीलाई

मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ ।

सम्बन्धित खवर