अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं जन्मोत्सव तयारी पुरा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं जन्मोत्सव तयारी पुरा

माङसेबुङ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको छ ।

किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा हरेक वर्ष फगुन २, ३ र ४ गते वृहत रुपमा मनाइदैं आएकोमा यसबर्ष पनि  भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल समारोहले जनाएको छ ।

अङसीमामाङको नुमाङगेन्ना सेवा समारोहमा प्रदेश नं १ का सांसद आशारत्न जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न हुने मूल समारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने समारोहमा यस वर्ष १ न. प्रदेशका सांसद आशारत्न जबेगु अउने भएका छन् । कार्यक्रमको उद्घाटन समारोहमा दीप प्रज्वलन गर्न तथा शुभकामना दिन सांसद जबेगु माङसेबुङ आउन लागेका हुन् ।

समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’बाट आशीर्वचन, नुमाङगेन्ना सेवा, अभिनन्दन, मिक्तोक अर्पण साथै पवित्रहाङमा कपको पुरस्कार वितरण कार्यक्रम हुने समारोहका महासचिव काकीराम लाओतीले बताए ।

यसरीनै साँझ बिबिध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसका लागि समारोहको सांस्कृतिक विभाग उपसमिति तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले नुमाङगेन्ना समारोहमा प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिहरु सबै तयारी गरिसकेको साक्थिम्गेन पान्जुम्भोका सचिव आइन्द्र थेगिमले बताए ।

नुमाङगेन्ना सेवा समारोहको क्रममा शनिबार (फागुन १ गते) साक्मुरा वादेम्मा, आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको मूल समारोहका महासचिव काकीराम लाओतीले बताए ।

त्यसैगरी अङसीमामाङको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप आइतबार सम्पन्न गरिएको खेलकुद विभाग किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले माङसेबुङ न्युज डट कमलाई बताएको छ ।

मनकुमारका अनुसार आज भएको फाइनल खेलमा ए.पी.एफ.सी.माङसेबुङलाई १–० ले पराजित गर्दै रोयल स्पोर्टिङ क्लब दमक झापाले उपाधि कव्जा गरेको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन ‘सेईङ’संग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

सम्बन्धित खवर