आदिवासी जनजाति साहित्यकार महासंघको भेला सुरु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति साहित्यकार महासंघको भेला सुरु


काठमाडौ । आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला आइतबार सुरु भएको छ । साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं भन्ने नाराका साथ महासंघको राष्ट्रिय भेला आयोजना गरिएको छ ।

देशभरका विभिन्न ८ वटा राज्य समितिबाट भेलामा सहभागि हुन आएका विभिन्न भाषाका साहित्यकारहरूको उपस्थिति सहितको सो भेलालाई सम्बोधन गर्दै कवि तथा गीतकार भूपाल राईले आदिवासी, जनजातिहरुले आफ्ना मुद्दाहरुलाई राजनीतिकरण गर्दै सत्तासम्म पहुँच पु¥याउनका लागि सामुहिक रुपमा लाग्नु पर्ने बताए ।

त्यसैगरी नेपाल लेखक संघका अध्यक्ष समेत रहेका कवि श्रवण मुकारुङले देशभरका आदिवासी, जनजातिको सौन्र्दर्यशास्त्रलाई सैद्धान्तिकरण गरेर मूलप्रवाहमा ल्याउन महासंघलाई सुझाए ।

नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णिकार, पत्रकार सञ्जु दोङ, अभियन्ता तथा मधेश मामिलाकि अध्येता रिता शाह लगायतले सम्बोधन गरेको भेलामा डा. तारालाल श्रेष्ठले आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता र अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्था सम्बन्धि अवधारणापत्र प्रस्तुत गरेका थिए ।

भेलामा जनजाति महिलाको अवस्थाबारे बोल्दै अनुसन्धाता कैलाश राईले आधुनिक राज्यको विकाससँगै आदिवासी, जनजाति महिलालाई श्रमिकमा रुपान्तरण गरिएको विचार व्यक्त गरिन् । राज्यले आदिवासी, जनजाति महिलाको जीवन दर्शनलाई उपेक्षा गर्दै एकल जातीय चिन्तन र भाष्य निर्माण गरेको उनले बताइन् ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासी जनजातिको दृष्टिबाट साहित्य लेख्दै नेपाली इतिहास पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । भेलालाई सम्बोधन गर्न पुगेका लेखक, पत्रकार तथा नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैंमा प्रतिरोधको नाम भएको बताए । लोकतन्त्रलाई पुनः परिभाषित गर्न आदिवासी जनजातिको मौलिक ज्ञान, सीप समाजको मूलधारमा आउनुपर्ने आवश्यकता रहेको वाग्लेले औंल्याए ।

त्यसैगरी साहित्यकार महासंघका संयोजक लेखक राजन मुकारुङले एकल भाषा, चिन्तन, दर्शन र सौन्दर्यबोध निर्माणमा लागिरहेको राज्यसँग प्रतिरोध गर्न महासंघको स्थापना भएको बताए । उनले भने, ‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो ।

अब त्यसका विरुद्ध नयाँ सौन्दर्य निर्माण गर्ने हो । सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्नका लागि यो महासंघ निर्माण भएको हो ।’ आदिवासी, जनजातिमा विकसित हुँदै गएको राजनीतिक चेतनाले नै महासंघ निर्माण गरेको उनको भनाई थियो ।

आइतबार समाप्त हुने भेलाले घोषणापत्र पनि सार्वजनिक गर्नेछ । यसका साथै देशभरका आदिवासी, जनजातिका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान गर्न प्राज्ञिक परिषद समेत गठन गर्नेछ ।

सम्बन्धित खवर