एनएसएल : काठमाडौं र धनगढी प्लेअफमा भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनएसएल : काठमाडौं र धनगढी प्लेअफमा भिड्दै


काठमाडौं । नेपालमा पहिलो पल्ट आयोजना गरिएको फ्रेन्चाइज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी बिच खेल हुँदैछ ।

मंगलबार दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने काठमाडौं र धनगढीबीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ । यसैगरि पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ ।

लिगचरणको ६ खेलमा काठमाडौंले सर्वाधिक ४ खेल जित्दै १३ अंक जोडेको थियो । लिगमा काठमाडौंले व्यहोरेको एक मात्र हार धनगढीविरुद्ध नै थियो भने एक खेल बराबरी खेलेको थियो ।

उता धनगढीले ६ मध्ये ३ खेलमा जित हात पार्दा २ खेलमा पराजित भयो भने एक खेल बराबरी खेलेको थियो । धनगढीले १० अंक जोडेको थियो ।

प्लेअफ अघि सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षकले जितकै लागि खेल्ने बताए ।

राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको नेतृत्वमा धनगढीले खेलिरहेको छ भने राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौंले खेलिरहेको छ । संयोगले दुवै टिमका कप्तान गोलकिपर रहेका छन् ।

काठमाडौंको प्रशिक्षकमा गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका बालगोपाल महर्जन छन् ।

धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि नाइजेरियन फुजात तोपले रणनीतिमा साथ दिइरहेका छन् । दुवै टिमका प्रशिक्षकहरुले खेललाई आफ्नो पक्षमा पार्ने प्रि–म्याच कन्फ्रेन्समा बताए ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लेअफका लागि छनोट भएका हुन् ।

कोरोनाको महामारीका बिच सबै खेल गतिविधि रोकिएको अवस्थामा भईरहेको खेल विना दर्शक जारी रहेको छ ।

 

सम्बन्धित खवर