काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा ललितपुर सिटी एफसी प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा प्रवेश गरको हो ।
ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो ।
खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० को जित दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरे ।
अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ । ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ ।