विश्वकप छनोट : आज नेपाल चाईनिज ताईपेसँग भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : आज नेपाल चाईनिज ताईपेसँग भिड्दै

काठमाडौं । नेपालले सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।

आज (बिहिबार) नेपाली समय अनुसार राति ९ः४५ बजे कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन भएपनि ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।

ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो । नेपाल र ताइपेविचको खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजन गर्ने भएको छ ।

 

सम्बन्धित खवर