विश्वकप छनोट : चाईनिज ताईपेविरुद्ध नेपालको सहज जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : चाईनिज ताईपेविरुद्ध नेपालको सहज जित

माङसेबुङ। फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ ।

बिहीबार राती कुवेतमा अवस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित हात पारेको हो ।

नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २–० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

यसैगरि नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

चाईनिज ताईपेको भने यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।

सम्बन्धित खवर