विश्वकप छनोट : अष्ट्रेलियासँग नेपाल पराजित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : अष्ट्रेलियासँग नेपाल पराजित

काठमाण्डौ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

शुक्रबार राति कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।

अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरि खेलको ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए । त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० को जित दिलाए ।

यस जितसँगै अष्ट्रेलियाले नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा अष्ट्रेलियाले नेपाललाई ५–० ले हराएको थियो ।

जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ ।

नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

 

 

सम्बन्धित खवर