युरोकप : टर्कीमाथि इटालीको सानदार विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : टर्कीमाथि इटालीको सानदार विजयी सुरुवात

एजेन्सी । इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति रोमस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो ।

इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो ।

यसैगरि खेलको ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सम्बन्धित खवर