युरोकप : फिनल्याण्ड र बेल्जियमको विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : फिनल्याण्ड र बेल्जियमको विजयी सुरुवात

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करणको पहिलो खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।

सेन्ट पिटर्सवर्गमा शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद विजयी सुरुवात गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे भने यस्तै थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।

खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा मुनिएरको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।

बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो । जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ । रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

फिनल्याण्डको ऐतिहासिक जित

फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।

युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो ।

जितसँगै समूह ‘बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ । डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।

तर, मैदानमा चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र उनी बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ । उनलाई थप उपचारको लागि अस्पताल लगिएको समेत एसोसियनले जनाएको छ ।

एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुनः सुरु भएको थियो ।

 

 

सम्बन्धित खवर