युरोकप : इंग्ल्यान्ड, अष्ट्रिया र नेदरल्यान्ड्स को विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : इंग्ल्यान्ड, अष्ट्रिया र नेदरल्यान्ड्स को विजयी सुरुवात

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करण अन्तरगत इंग्ल्यान्ड अष्ट्रिया र नेदरल्यान्ड्सले विजयी सुरुवात गरेका छन् ।

आइतबार साँझ वेम्बली स्टेडियम लण्डनमा भएको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद विजयी सुरुवात गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले काल्भिन फिलिप्सको पासमा निर्णायक गोल गरे ।

त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।

यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । विश्वकप उपविजेता समेत रहेको क्रोएसिया भने समूहको पुछारमा रहेको छ ।

नेदरल्यान्ड्सको रोमान्चक जित

नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद विजयी सुरुवात गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए ।

दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को जित दिलाए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ भने युक्रेन तेस्रो स्थानमा रहेको छ ।

अष्ट्रियाको ऐतिहासिक जित

अष्ट्रियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोमानियाको बुचारिस्टमा आइतबार राति नर्थ म्यासेडोनियालाई ३–१ गोल अन्तरले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे । म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । मार्सेलको पासमा उनले गोल गरेका थिए ।

तर, २८ औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १–१ गोलको बराबरीमा फर्काए । उनले अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा गोल गरेका थिए ।

यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन् । उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन् । म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो ।

खेलको ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २–१ को अग्रता दिलाए । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको ९० औं मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए ।

युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यस अघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।

 

 

 

सम्बन्धित खवर