युरोकप : स्विडेन र स्पेनले बराबरी खेल्दा स्लोभाकिया र चेक रिपब्लिकको जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : स्विडेन र स्पेनले बराबरी खेल्दा स्लोभाकिया र चेक रिपब्लिकको जित

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ ।

सोमबार राति घरेलु मैदान सेभियामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।

यस बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ ।

स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्लोभाकियाले सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अंक विहीन पोल्याण्ड भने समूहको पुछारमा रहेको छ ।

स्लोभाकियाको सुखद सुरुवात

स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको हो ।

खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए । यस जितसँगै समूह ‘इ’ को स्लोभाकियाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

चेक रिपब्लिकको विजयी सुरुवात

चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो ।

चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे । खेलको ४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

यस समूहमा इंग्ल्यान्ड ३ अंक जोडेर दोस्रो र क्रोएसिया अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्कटल्याण्ड समूहको पुछारमा रहेको छ ।

सम्बन्धित खवर