कोपा अमेरिका : अर्जेन्टिना र चिलीको खेल बराबरी - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : अर्जेन्टिना र चिलीको खेल बराबरी

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ ।

सोमबार राति ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो ।

खेलको ३३ औं मिनेटमा चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र भन्दा केहि बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि पाएको फ्रिकिकमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रिकिकमा मेस्सीले टप कर्नरमा उत्कृष्ट गोल गरे । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो ।

तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

त्यसअघि अर्जेन्टिनाका निकोलसले भिडाललाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताबाट चिलीलाई पेनाल्टीको अवसर दिईएको थियो । तर, भिडालले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको दोस्रो स्थानमा रहेको छ भने चिली तेस्रो स्थानमा रहेको छ ।

पाराग्वेको शानदार जित

कोपा अमेरिका फुटबलमा पाराग्वेले शानदार सुरुवात गरेको छ । मंगलबार बिहान पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो ।

सुरुवाती १० औं मिनेटमा पेनाल्टीमा पछि परेपनि पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुवात गरेका थिए ।

पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा अग्रता भने बोलिभियाले १० औं मिनेटमा इरविन सावेद्राको गोलबाट लिएको थियो । दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटमै एन्जेल रोमेरोले पाराग्वेको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

खेल सकिन १० मिनेट अघि रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे । उनले ग्याब्रियल अवलोसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

 

सम्बन्धित खवर