युरोकप : नर्थ म्यासेडोनियामाथि युक्रेनको सहज जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : नर्थ म्यासेडोनियामाथि युक्रेनको सहज जित

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलमा युक्रेनले पहिलो जित दर्ता गरेको छ ।

बिहीबार साँझ रोमानियाको नेसनल एरिनामा भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित दर्ता गरेको हो ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि युक्रेन २–१ ले विजयी भयो । एलिओस्कीले प्रहार गरेको पेनाल्टी युक्रेनका गोलकिपर जर्जले रोकेका पनि रिबाउन्डमा उनले गोल गरे ।

यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टी प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।

यस जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ । नर्थ म्यासेडोनियाको यो लगातार दोस्रो हार हो । म्यासेडोनिया पुछारमा रहेको छ ।

सम्बन्धित खवर