एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ ।
शनिबार बिहान ब्रासिलियामा भएको खेलमा अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गर्दै पहिलो जित निकालेको हो ।
अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १३ औं मिनेटमा रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई गोल गरेका थिए ।
खेलको आठौं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट गरेको प्रहारलाई उरुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिदै बचाएपनि नियन्त्रणमा लिन नसकेको बललाई लोउटारो मार्टिनेजले भेट्न सकेन ।
जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।
पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।
शनिबार बिहान नै चिलीले बोलिभियालाई १–० ले पराजित गर्दै कोपा अमेरिका कपमा पहिलो जित निकालेको थियो । बोलिभियाको भने यो लगातार दोस्रो हार हो ।
अब अर्जेन्टिनाले समूह चरणको तेस्रो खेलमा २२ जुनमा पाराग्वेसँग तथा उरुग्वेले सोही दिन नै चिलीसँग खेल्नेछ ।