युरोकप : फ्रान्स, स्पेन वरावरीमा रोकिंदा, जर्मनीको सानदार जित - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : फ्रान्स, स्पेन वरावरीमा रोकिंदा, जर्मनीको सानदार जित

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।

शनिबार साँझ हंगेरीको बुडापेस्ट पुस्कास एरिनामा भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।

एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रोलान्ड सालियाको पासमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । उनले उत्कृष्ट गोल गरेका हुन् ।

तर, दोस्रो हाफमा खेलको ६६ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो । दोस्रो हाफमा ओसुमाने डेम्बेलेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

पोल्याण्डसँग स्पेनको बराबरी

१६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ ।

शनिबार राति सेभियामा भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो ।

सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले कामीलको पासमा हेडरमार्फत गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यससँगै समूह ‘ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

जर्मनीको सानदार जित

जर्मनीले १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ ।

शनिबार राति एलिनाज स्टेडियम म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । जर्मनीले पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोको दुई गोल आत्मघाती उपहार पाएको थियो ।

यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाए ।

खेलको १५ औं मिनेटमा डिएगो जोटाको पासमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । जर्मनीविरुद्ध रोनाल्डोको यो पहिलो गोल हो ।

तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको स्थितिमा आयो ।

खेलको ३९ औं मिनेटमा जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए ।

यस्तै खेलको ६० औं मिनेटमा किमिचको पासमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा रोनाल्डोको पासमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४–२ ले विजयी भयो ।

समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ ।

पोर्चुगलको यो पहिलो हार हो ।समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।

सम्बन्धित खवर