युरोकप : बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र अष्ट्रिया नकआउट चरणमा - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र अष्ट्रिया नकआउट चरणमा

एजेन्सी । बेल्जियम समूह विजेता बन्दै युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकाल्दै बेल्जियम समूह ‘बी’ को समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।

यसैगरि खेलको ८१ औं मिनेटमा केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गर्दै लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए ।

फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

डेनमार्क नकआउट चरणमा

डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति घरेलु मैदान पार्केन स्टेडियममा भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क  समूह ‘बी’ को समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।

रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा डाम्सगार्डले पिएरे इमिलको पासमा बक्स बाहिरबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् ।

खेलको ५९ औं मिनेटमा रुसका डिफेन्डरले दिएको ब्याक पासमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए ।

यसैगरि खेलको ७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।

रुस भने समूह चरणबाट बाहिरिएको छ ।।

नेदरल्यान्ड्स समूह विजेता

नेदरल्यान्ड्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति जोहान क्रुफ एरिनामा भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘सी’ का ेसमूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपेले एक गोल थपे ।

खेलको २४ औं मिनेटमा काउन्टर बलमा डोनवेल मालनको पासमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफको ५१ औं मिनेटमा डिपेको पासमा विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा विनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को जित दिलाए ।

अष्ट्रिया पहिलो पटक नकआउट चरणमा

अष्ट्रिया समूह ‘सी’ को समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति नेसनल एरिनामा भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा कप्तान डेभिड अल्बाको क्रिस्टोफले निर्णायक गोल गरेका हुन् ।

अष्ट्रिया पहिलो पटक युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । अब अष्ट्रियाले अन्तिम १६ मा इटालीसँग खेल्नेछ ।

युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो । युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।

सम्बन्धित खवर