युरोकप : इंग्ल्यान्ड समूह विजेता क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : इंग्ल्यान्ड समूह विजेता क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा इंग्ल्यान्ड समूह विजेता बन्दै प्रवेश गरेको छ ।

मंगलबार राति वेम्बली स्टेडियममा समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा स्ट्रर्लिङले गोल गरेका हुन् । जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।

यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । इंग्ल्यान्डले समूह चरणमा कुनैपनि गोल व्यहोर्नु परेको छैन ।

चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा

क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

ह्याम्पडेन पार्कमा भएको समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।

क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो ।

खेलको ६२ औं मिनेटमा माटियो कोभासिचको पासमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए ।

यस जितसँगै समूह ‘डी’ को क्रोएसिया उपविजेता बन्यो । स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

सम्बन्धित खवर