युरोकप स् फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेन र स्वीडेन नकआउट चरणमा - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप स् फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेन र स्वीडेन नकआउट चरणमा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलमा समूह ‘एफ’ मा रहेको फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।

तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–२ गोलको बराबरीमा ल्याए । यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् ।

यसैगरि पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको छ । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ भने फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

जर्मनी नकआउट चरणमा

समूह ‘एफ’ मा रहेको जर्मनी समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो । खेलको ११ औं मिनेटमा रोलान्डको पासमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा हुमेल्सको पासमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए ।

लगत्तै ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए । तर, खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ । हंगेरी भने समूह चरणबाट बाहिरिएको छ ।

स्पेन नकआउट चरणमा

समूह ‘ई’ मा रहेको स्पेन समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाए ।

स्पेनले अब अन्तिम १६ मा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । स्पेनसँगको फराकिलो हारसँगै स्लोभाकिया समूह चरणबाटै बाहिरिएको छ ।

स्विडेन समूह विजेता

समूह ‘ई’ मा रहेको स्विडेन समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए ।

 

सम्बन्धित खवर