फल्गुनन्दमा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा बन्दै - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फल्गुनन्दमा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा बन्दै

  • युद्धबहादुर बोहोरा

पाँचथर । आगामी आर्थिक वर्षदेखि फाल्गुनन्द गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ ।

लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो । साथै पालिका भित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने कार्यक्रममा उल्लेख भएको छ ।

पालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले विहिवार सो कुरा घोषणा गरेका हुन् । गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको जनाइएको हो ।

यस अघिदेखिनै पालिकामा मातृभाषाको रूपमा लिम्बू भाषा पढाइ हुँदै आएको छ । पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरि कार्यान्वयनना ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समय सापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरि प्रयोगमा ल्याउने भएको छ ।

राष्ट्रिय विभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्दको नामबाट नामाकरण गरिएको यो पालिका भित्र वहाँको कर्म क्षेत्र तथा समाधीस्थल रहेको हुँदा धार्मिक पर्यटकिय स्थलको रूपमा समेत विकास,प्रवर्द्धन तथा संरक्षण गरिने भएको छ ।

यस अगाडि इलामको माङ्सेबुङ् गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा संचालन गरि सकेको छ ।

सम्बन्धित खवर