काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ बाट सुरु हुने भएको छ ।
आइतबार ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको छ ।
एन्फाले कात्तिक २९ गतेबाट लिग खेल्न क्लब सहमत भएको जनाएको छ । यस अघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो ।
तर, अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । एन्फाले लिगका लागि खेलाडीहरुको दर्ता प्रक्रिया सुरु भइसकेको जनाएको छ ।