काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टिम नेपाल भारतसँग बराबरीमा रोकिएको छ ।
बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु दर्शकसामु नेपाल बराबरीमा रोकिएको हो ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए ।
तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए । त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए ।
अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।