दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशसँग नेपाल गोलरहित बराबरीमा रोकिएको हो ।

आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको हो ।

यससँगै नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।

यसैगरि खेलको छैटौं मिनेटमा गोलकिपर अन्जना राना मगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मोस्सामत सोप्नाले अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगेकी थिइन् ।

यस्तै खेलको नवौं मिनेटमा नेपालकी अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले नियन्त्रणमा लिन सफल भईन् ।

खेलको १० औं मिनेटमा नेपालकी सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल बंगलादेशकी चक्माले डाइभ हान्दै बाहिर पठाउन सफल भईन ।

खेलको ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो ।

यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिईन् ।

नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

 

सम्बन्धित खवर